चरित्र खुलाउँदै जानी नजानी



आगामी चैत्र १ गते रिलिज हुने फिल्म जानी नजानीका पात्रहरू खुलाउँदै क्यारेक्टर पोस्टर सार्वजानिक भएको छ। सार्वजनिक पोस्टरमा फिल्ममा रहेका प्रमुख कलाकार मनीष श्रेष्ठ, नम्रता श्रेष्ठ, सन्नी सिंहसँगै डेब्यु गर्ल निरिशा बस्नेतको क्यारेक्टरलाई प्रस्ट्याइएको छ।

प्रेमकथामा आधारित फिल्म यी चारकै वरपर घुमेको छ, त्यसैले यी चारको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको फिल्म निर्माण समँहले जनाएको छ। क्यारेक्टर पोस्टरमा नामसँग ढाकालाई पनि जोडिएको छ। नेपाली पोशाकको प्रतीक मानिने ढाका र फिल्मको क्यारेक्टर एक–आपसमा जोडिएकाले नै यसरि पोस्टर तयार पारिएको डेब्यु निर्देशक वसन्त अधिकारीले बताए। फिल्ममा प्रकाश अधिकारी, कृष्णभक्त महर्जन, रोशनी केसीलगायतको पनि अभिनय रहेको छ। आधुनिक प्रेमकथामा आधारित फिल्मको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका छन्।

‘फिल्मले अहिलेको युवा पुस्ताको कथालाई रिलेट गर्छ। साथै यसमा प्रेमसँगै दायित्व पनि छन्।’ –निर्देशक अधिकारी भन्छन्। फिल्मका लेखन सामिप्य फिल्मलाई लिएर आशावादी छन्। ‘फिल्ममा प्रेमकथा छ। यसको दायाँ–बायाँ राष्ट्रियता र युवा पुस्ताले लिनुपर्ने जिम्मेवारीका कुरा पनि छन्’, सामिप्य भन्छन्– ‘फिल्मले व्यापार व्यवसायमा नयाँ पुस्ताको सोचलाई पनि प्रतिबिम्बित गर्ने प्रयास गरेको छ।’ फिल्मको छायांकन नेपालको रमणीयस्थलसँगै भारतको मनालीमा समेत भएको छ। उनले यसअघि डाक्टर खाते फिल्म निर्माण गरिसकेकी छिन्।

फिल्ममा संगीत अर्जुन पोखरेल, कोरियोग्राफी कविराज गहतराज, प्रवीण सिंह र शिशिर खाती, छायांकन सञ्जय लामा र सम्पादन अर्जुन जीसीको रहेको छ। रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन्। फिल्ममा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको छ।

प्रतिक्रिया दिनुहोस्