हरि ४० सेकेण्डले पहिलो



विजय नेपाली, पोखरा
त्रिभुवन आर्मी क्लबका धावक हरिकुमार रिमालले १३ औं सस्करणको पोखरा म्याराथनमा पहिलो स्थान हासिल गरेका छन् ।

मंगलबार भएको लामो दुरीको दौडमा रिमालले एपीएफका धावक खिमबहादुर खत्रीलाई १० सेकेण्डले पछि पार्दै पहिलो स्थान हात पारेका हुन् । उनले २ घण्टा ४० मिनेट १० सेकेण्डको समयमा दुरि पार गर्दै नगद १ लाख रुपैयाँ पनि सुरक्षित गरे । रियो ओलम्पिक २०१६ मा समेत नेपालको प्रतिनिधित्व गरेका उनले गत वर्ष अन्नपूर्ण म्याराथन समेत जितेका थिए ।

खत्रीले भने सो दुरी २ घण्टा ४० मिनेट २० सेकेण्डको समयमा पार गर्दै दोस्रो स्थानमै चित्त बुझाए । उनले नगद ७० हजार रुपैयाँ हासिल गरेका थिए । तेस्रो स्थान रहेका नेपाल पुलिस क्लबका भूमिराज राईले ५० हजार रुपैयाँ प्राप्त गरे । उनले २ घण्टा ४१ मिनेट १७ सेकेण्डको समय लगाएका थिए ।

मञ्चको आयोजना तथा सफल दूधको मुख्य प्रायोजनमा आयोजित दौडमा ६० जना धावकहरुले प्रतिस्पर्धा गरेका थिए । १० किलोमिटर पुरुषतर्फ नेपाल आर्मीका विकास कार्की, राजन रोकाया र शिवबहादुर रायमाझी क्रमशः पहिलो, दोश्रो र तेश्रो भए । महिलातर्फ पुलिसकी राजपुरा पछाइ पहिलो, एपिएफकी विन्द्रा श्रेष्ठ दोश्रो र आर्मीकी सरिता बंशी तेश्रो भईन् । प्रतियोगितामा पहिलो हुनेले १५ हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार पाए ।

ह्विलचियर दौडमा पुरुषतर्फ सुरेश गौली, भरत अधिकारी र हेमबहादुर गुरुङ तथा महिलातर्फ लक्ष्मी विश्वकर्मा, अञ्जु बसेल र पवित्रा विक क्रमशः पहिलो, दोश्रो र तेश्रो भए । पहिलो हुनेलाई ५, दोश्रोलाई ३ र तेश्रोलाई २ हजार रुपैयाँ पुरस्कार दिईएको छ ।

दृष्टिविहिन दौडमा महिलातर्फ विटु विधामा विनिता पुन र बी वानमा रितादेवी थापा तथा पुरुषतर्फ विटुमा आदेश बस्याल र बी वानमा दुर्गादत्त पौडेल पहिलो भएर नगद ५ हजार पुरस्कार हात पारे ।

प्रतिक्रिया दिनुहोस्