राप्रपाको देशव्यापी जनसंघर्षको कार्यक्रम शुरु



काठमाडौं, (नेस)
राप्रपाले हिन्दु राष्ट्र पुनस्र्थापनालगायतका विभिन्न २२ बुँदे माग राखेर मंगलबारबाट जनसंघर्षको कार्य शुरु गरेको छ । राप्रपाले उपत्यकामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई, प्रदेशमा प्रदेशका मुख्यमन्त्रीलाई र सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र पेस गरेको छ ।

राप्रपा अध्यक्ष कमल थापाको नेतृत्वमा गएको पार्टीको प्रतिनिधिमण्डलले जनसंघर्षको २२ बुँदे मागसहितको ज्ञापनपत्र प्रधानमन्त्री केपी ओलीलाई बुझाएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा ज्ञापनपत्र पेस गरेलगत्तै राप्रपाले ¥यालीसहित शान्तिपूर्ण जनसंघर्ष कार्यक्रमको शुभारम्भ गरेको थियो ।

अध्यक्ष थापाको नेतृत्वमा नयाँ बानेश्वरबाट शुरु भएको जुलुस माइतीघर मण्डलामा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभालाई अध्यक्ष थापा, नेता बुद्धिमान तामाङलगायतले सम्बोधन गरेका थिए । पार्टीले मागपत्रमा उल्लेख गरेका विषयलाई सरकारले फागुन मसान्तसम्ममा सम्बोधन गरिनुपर्ने समयसीमा तोकेको छ ।

निर्धारित समयसम्ममा माग सम्बोधन नभए वा हुन नसके फागुन ३० गते काठमाडौंमा हुने राष्ट्रिय स्वाभिमान यात्राको समापन समारोहमा संघर्षका थप कार्यक्रम घोषणा गरिने राप्रपाले जनाएको छ । राप्रपाले जनसंघर्षकै कार्यक्रमअन्तर्गत आफूले सरकारसमक्ष पेस गरेका मागहरूबारे जनमत सिर्जना गर्न, जनतालाई जागरुक तुल्याउन फागुन १५ देखि ३० सम्म मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको तयारी तीव्रताका साथ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्