पश्चिम सेती आयोजना आफ्नै कार्यकालमा शुरु हुने प्रधानमन्त्रीको दाबी



राम धामी, डडेल्धुरा
प्रधानमन्त्री केपी शर्मा ओलीले बहुचर्चित पश्चिम सेती जलविद्युत आयोजना निर्माण कार्य आफ्नै कार्यकालमा शुरु हुने दाबी गरेका छन ।
डडेल्धुरा सदरमुकामदेखि तीन किलोमिटर दुरीमा रहेको स्याउले बजार नजिकै दुधकाँडेमा निर्मित स्याउले १३२ के.भी. सवस्टेशन आयोजनाको उद्घाटनगर्दै प्रधानमन्त्री ओलीले आफु प्रधानमन्त्री रहेकै बेला पश्चिम सेती आयोजनाको निर्माण कार्य आरम्भ हुने जिकिर गरे ।

ट्युब र तुईनको प्रयोग गरेर महाकाली नदीमा जोखिमपुर्ण यात्रा गर्नु परिरहेको बताउदै प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणका क्रममा उत्तरप्रदेश र उत्तराखण्ड सरकारका मुख्यमन्त्रीसँग महाकाली नदीमा पुल निर्माणका लागि छलफल गरेको र चाँडै महाकाली नदीमा पक्की पुलहरु निर्माण गरिने बताए ।
सरकारले चमत्कारिक ढंगबाट विकास कार्य गरिरहेको दाबीगर्दै प्रधानमन्त्री ओलीले केहि दिनमै पानी जहाज सञ्चालनमा आउने र पुर्व पश्चिम रेलमार्गका लागि अध्ययन भईरहेकाले रेल सेवासमेत चाडै सञ्चालनमा आउने बताए ।

हरेक ग्रामीण सडकहरुलाई अनिर्वाय रुपमा दुई लेनको बनाईने बताउदै प्रधानमन्त्री ओलीले आत्मनिर्भर अर्थतन्त्रको विकासगर्दै आत्मविश्वासका साथ आफ्नो विकास आफैले गर्ने बाटोमा सरकार अघि बढिरहेको बताए ।

नेपाल प्राकृतिक श्रोतले भरिपुर्ण देश भएकाले देशको विकासका लागि हरेक नेपालीमा आत्मविश्वास हुनुपर्ने बताउदै प्रधानमन्त्री ओलीले वैदेशिक सहयोग समेत जुटाएर विकासका योजनाहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्न सरकार कटिबद्ध रहेको जिकिर गरे । उनले हरेक दिन विकासका नयाँ आयोजनाहरु शुभारम्भ भईरहेको बताउदै शुखी र समृद्ध नेपाल निर्माणको दिशातर्फ सरकार अघि बढिसकेको दाबीगरे ।

मुुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि आफुले कडाईका साथ प्रस्तुत भएकै कारण कारवाही हुने डरले भ्रष्टाचारमा संलग्न अख्तियार दुरुपायोग अनुसन्धान आयोगका आयुक्तनै राजिनामा दिन बाध्य भएको बताउदै प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा संलग्न कसैलाई पनि नछाडिने प्रतिवद्धता ब्यक्त गरे ।

ऊर्जामन्त्री बर्षामान पुनको सभापतित्वमा सम्पन्न उदघाटन समारोहमा भौतिक योजना मन्त्री रघुबिर महासेठ, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित नेपाल सरकारका उच्च अधिकारीहरु, सुदूरपश्चिम प्रदेश सरकारका मुुख्यमन्त्री त्रिलोचन भट्ट, प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री पठानसिँह बोहरा लगायत उच्च पदस्थ अधिकारीहरु सहभागी थिए ।

सुदूरपश्चिम प्रदेशका सात ओटा पहाडी जिल्लाकमा विद्युत वितरण प्रणालीलाई व्यवस्थित बनाउने उदेश्यले नेपाल सरकारको लगानीमा सवस्टेशन निर्माण गरिएको हो । सवस्टेशन निर्माण गर्न रु २८ करोड लागत अनुमान गरिएको आयोजनाले जनाएकोछ । इष्ट इन्डीया उद्योग र वाईवा इन्फाटेक जेभीले निर्माण कार्य सम्पन्न गरेको सवस्टेशनमा ३० एमभीए क्षमताको १३२÷३३ के.भी.को एउटा पावर ट्रान्सफर्मर र ८ एमभीए क्षमताको ३३÷११ के.भी.को एउटा वितरण टान्सफर्मर गरि दुईओटा ट्रान्सफर्मर राखिएका छन ।

देउवाको गृहजिल्लामा प्रमलाई कालोझन्डा
आयोजनाको उदघाटनका लागि आयोजनास्थल पुग्नु अघि स्याउले बजारमा प्रधानमन्त्री ओलीलाई नेपाली काँग्रेस डडेल्धुराका कार्यकर्ताहरुले कालोझण्डा देखाएका थिए ।

कालोझण्डा देखाउने कार्यमा संलग्न रहेको भन्दै नेपाली काँग्रेस डडेल्धुरा जिल्ला कार्यसमितिका सदस्य गोकुल शाही, नेपाल दलित संघ डडेल्धुराका अध्यक्ष सन्तोष जैरु, नेपाल सांस्कृतिक संघ डडेल्धुराका अध्यक्ष प्रकाश जैरु, नेपाल नाइ संघ डडेल्धुराका अध्यक्ष शियाशरण ठाकुर, स्ववियु सभापति जगत ऐर, पदम खाती, पदम भण्डारी, रामबहादुर भण्डारी र संजय जैरुलाई केहिबेर हिरासतमा राखेर छाडिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्