रासस को ५८ औं वार्षिकोत्सव बिभिन्न कार्यक्रम गरी समम्पन



काठमाडौ (नेस) । राष्ट्रिय समाचार समिति (रासस) ले ५८ औं वार्षिकोत्सवका अवसरमा मंगलबार उत्कृष्ट ठहरिएका समाचारदातालाई समाचार, आलेख, फोटो र श्रव्य सामग्री विधामा सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राससका पूर्वअध्यक्ष तथा महाप्रबन्धक राधेश्याम विष्ट र पूर्वमहाप्रबन्धक तथा पत्रकार गोकुलप्रसाद पोखरेललाई विशेष सम्मान गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ, रासस शाखाद्वारा स्थापित ‘रासस पत्रकारिता पुरस्कार’ वरिष्ठ समाचारदाता विष्णुप्रसाद नेपाल र उप–समाचारदाता नीरजकुमार गौतमलाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही १० हजार रहेको छ ।

त्यसैगरी रासस कर्मचारी सङ्घको तर्फबाट प्रदान गरिने ‘वासु रिमाल यात्री पुरस्कार’ अन्तराष्ट्रिय समाचार शाखा प्रमुख सोमनाथ लामिछाने (केन्द्रीय कार्यालय) र वरिष्ठ सवारी चालक केशव खत्री (केन्द्रीय कार्यालय) लाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही पाच हजार रहेको छ ।

त्यसैगरी नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, रासस शाखाद्वारा स्थापित ‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’ प्रमुख समाचारदाता तीर्थ भट्टराई (केन्द्रीय कार्यालय) र उप–व्यवस्थापक रामलाल श्रेष्ठ (केन्द्रीय कार्यालय) लाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही पाच हजार ५०० रहेको छ । इमानदारीपूर्वक कार्य गरेबापत कार्यालय सहयोगी ज्ञानु तिमिल्सिनालाई सम्मान गरिएको छ ।

यो वर्षको ‘उमाकान्त–गीतादेवी–चन्द्रमणि स्मृति पत्रकारिता पुरस्कार’ उदयपुर जिल्लाका स्थानीय समाचारदाता (स्ट्रिङ्गर) हरिकुमार राईलाई प्रदान गरिएको छ ।

उत्कृष्ट जिल्ला समाचारदाताकातर्फ प्रदेश नं ३ का कृष्णराम परियार (मकवानपुर) र काठमाडौँ उपत्यकाकी मीना घोरसाइने (काठमाडौ) लाई पुरस्कार प्रदान गरिएको छ । उत्कृष्ट आलेखतर्फ प्रदेश नं ३ का आदित्य दाहाल (काठमाडौ), काठमाडौ उपत्यकाका समाचारदाता रमेश लम्साल र सिवी अधिकारी (काठमाडौ) र अङ्ग्रेजी समाचार शाखाकी उपसम्पादक पवित्रा गुरागाईं (काठमाडौ) पुरस्कृत हुनुभएको छ ।

त्यसैगरी उत्कृष्ट फोटोतर्फ प्रदेश नं ३ का फोटो पत्रकार नवीन पौडेल (काठमाडौ), उत्कृष्ट श्रव्यतर्फमा केन्द्रीय कार्यालय (प्रदेश नं ३) का वरिष्ठ समाचारदाता नारायणप्रसाद न्यौपाने (काठमाडौ) ले पुरस्कार प्राप्त गर्नुभएको छ ।

राससमा २० वर्ष अविछिन्न रुपमा स्थायी सेवा पूरा गर्नु हुने लेखा शाखा प्रमुख रुद्रमणि अधिकारी (केन्द्रीय कार्यालय), प्राविधिक शाखा प्रमुख धीरेन्द्रकुमार दत्त (केन्द्रीय कार्यालय) र वरिष्ठ सम्पादक मोहिनी रिसाल (केन्द्रीय कार्यालय) लाई दीर्घसेवा तथा पुरस्कार प्रदान गरिएको छ ।

राज्यको एकमात्र आधिकारिक समाचार समिति रासस विसं २०१८ फागुन ७ गते स्थापना भएको थियो । यसले विभिन्न आमसञ्चार माध्यमका लागि समाचार, आलेख, फोटो, श्रव्य सामग्री, अङ्ग्रेजी र अन्तराष्ट्रिय समाचार सेवा उपलब्ध गराउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्