इनहाइसँग सम्बन्ध गाँस्दै वनस्थली



नेपाल समाचारपत्र, काठमाडौं
शिक्षा क्षेत्रमा कहलिएको नाम हो, सिद्धार्थ वनस्थली । कुनै बेला लगातार १० पटकसम्म एसएलसी परीक्षामा प्रथम स्थानलगायत अन्य स्थानमा उसकै नाम आउँथ्यो । अहिले पनि सिद्धार्थ वनस्थलीको पढाइप्रतिको लगाव घटेको छैन । संसारका हरेक कुनामा पाइला पाइलामा वनस्थलीका उत्पादन भेटिन्छन् ।

आफ्नो त्यही साखलाई जोगाइराख्न यस विद्यालयले भिन्नभिन्न मुलुकका विभिन्न विद्यालय तथा विश्वविद्यालयसँग सहकार्य गर्दै आएको छ । पछिल्लो समय अरनिको समाजसँग मिलेर यस विद्यालयले चीनमा विद्यार्थीलाई पठनपाठन गर्ने मौका प्रदान गरेको छ । चीनका विभिन्न शहरमा आफ्नो सम्बन्ध बढाएको यस विद्यालयले शिक्षा क्षेत्रमा मात्रै नभई दुई देशबीचको संस्कृतिक आदानप्रदान गर्ने गरेको छ ।

पछिल्लो समयमा छिमेकी मुलुक चीनबाट नेपाल घुम्न आउने विद्यार्थीको संख्यामा बढोत्तरी छ । केही दिन अघि नेपालका विभिन्न विद्यालयमा आफ्नो कला, संस्कृति तथा रीतिरिवाज साटासाट गरेको आफ्नो देश पुग्नेबित्तिकै फेरि अर्को टोली नेपाल आइपुगेको छ । यसको नेतृत्व टोली नेता कृष्ण लीले गरेका छन् ।

यति बेला छिन्ताओ इनहाइ एकेडेमीका विद्यार्थी वनस्थलीमा व्यस्त छन् । नौ जनाको सो टोलीको उद्देश्य सार्वजनिक स्कुलमा शिक्षाको स्तर कस्तो छ भन्नेमा केन्द्रित रहेको छ । टोलीलाई एक कार्यक्रमका बीच सिद्धार्थ वनस्थलीका प्रिन्सिपल रुपक राजवंशीले स्वागत गर्नुभएको थियो ।

सातदिने भ्रमणमा नेपाल आएको टोलीको नेतृत्व विकी जियाङले गरेकी छन् । नेपालका विद्यार्थी असल तथा अनुशासित भएको उनको ठम्याइ छ । जियाङ भन्छिन्– ‘नेपाल र चीनबीच शिक्षामा समानता छ । नेपालका विद्यार्थी असल रहेछन् । ’

यस्तै भनाइ छ अर्का कार्यक्रमका कोअर्डिनेटर कृष्ण लीको पनि । उनी भन्छन्– ‘यहाँको शिक्षण विधि पनि उत्कृष्ट रहेछ । शैक्षिक क्रियाकलाप विद्यार्थी लक्षित छ । रमाइलो लाग्यो ।’ विद्यालयका प्रिन्सिपल रुपक राजवंशीले विगलको शैक्षिक गुणस्तर तथा साख जोगाइराख्न यस्ता कार्यक्रम गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘यस्ता प्रकारका कार्यक्रमले दुई देशबीचको सम्बन्ध विस्तारमा टेवा पु¥याएको छ ।’

प्रतिक्रिया दिनुहोस्