सरकार असफल भए मुलुक नै असफल



चौतर्फी आलोचना खेपेपछि सरकारले मन्त्री हेरफेरको तयारी गरेको छ । नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच मन्त्री हेरफेरका लागि औपचारिक तथा अनौपचारिकरुपमा छलफल शुरु भएको छ ।

दुई तिहाइको सरकार बन्दा पनि सोचेअनुरुपको काम हुन नसकेपछि दुवै नेता काम गर्न सक्ने व्यक्तिको खोजीमा जुटेका छन् । वर्तमान सरकारका एकाधबाहेक अन्य मन्त्रीले काम गर्न नसकेको र भ्रष्टाचार कहाली लाग्दो अवस्थामा पुगेपछि सरकार अहिले अप्ठेरो अवस्थामा पुगेको छ ।

मन्त्रीहरु जनताका कामभन्दा पनि कमाउ धन्दामा व्यस्त हुन थालेपछि सामाजिक सञ्जालमा सरकारको चर्को आलोचनासमेत हुन थालेको छ । सामाजिक सञ्जालको प्रयोग गरेर प्रतिपक्षी तथा स्वघोषित सामाजिक अभियन्ता भनिनेहरुबाट समेत सरकारको कामको तीव्र आलोचना हुन थालेपछि नेकपाका दुई अध्यक्ष भूमिगत शैलीमा भेटघाट गर्ने र पार्टी तथा सरकारको रक्षाका लागि नयाँ रणनीति तय गर्न थालेका छन् ।

अहिले कर्मचारीतन्त्रमा देखिएको छाडापन र खुलेआम घूस माग्ने क्रम बढ्दो अवस्था रहँदासमेत सरकारले त्यसलाई नियन्त्रण गर्न नसक्नु आफैंमा लाजमर्दो अवस्था हो । प्रधामन्त्री केपी ओलीले आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि हुन नदिने अभिव्यक्तिलाई तीव्रता दिइरहेकै बेला भ्रष्टाचारले नराम्रोसँग जरा गाड्दै जानुले मुलुकको अवस्था दयनीय बन्दै गएको छ ।

कर्मचारीतन्त्रमा देखिएको छाडापन रोक्नसमेत सम्बन्धित मन्त्रालयका मन्त्रीहरु असफल हुँदै जानु र मन्त्रीहरुमा पनि कामभन्दा कमाउनेतिर ध्यान जानुले सरकारको आलोचना तीव्ररुपमा हुदै गएको देखिन्छ । प्रधानमन्त्रीले बोल्ने एकथोक र गर्ने अर्कोथोक भएपछि सरकारी निकायबीचमा समन्वयसमेत हुन नसक्दा सरकार असफलतातर्फ उन्मुख हुँदै गएको छ । जबसम्म काम गर्ने इच्छाशक्ति सरकारमा बस्नेहरुको हुँदैन तबसम्म मुलुकमा सोचेजस्तो विकास हुन सक्दैन ।

प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणका लागि भिजन ल्याए पनि कार्यान्वयन पक्ष फितलो भएका कारण सरकार आलोचनाको पात्र बन्दै आएको छ । प्रधानमन्त्रीलाई सल्लाह लिने सल्लाहकारसमेत गलत व्यक्ति परेका कारण पनि ओली सरकार असफलतातर्फ उन्मुख हुँदै गएको छ । प्रधानमन्त्रीलाई भेट्ने हरेक व्यक्तिले उहाँको भिजन सुनेपछि ‘कन्भिन्स’ भएर फर्कने गरेका छन् ।

आलोचना गर्ने व्यक्तिले पनि प्रधानमन्त्रीको राष्ट्र निर्माणको भिजन सुनेर उहाँको आलोचनात्मक समर्थन गर्ने गरेको पाइन्छ । तर काम भने शून्यको अवस्थामा रहनुले उहाँले सपनामात्रै देखाउने काम गर्ने परिपाटीको थालनी गर्न लागेको हो कि भन्ने भान पर्न थालेको छ । यसतर्फ सरकारको ध्यान जान जरुरी छ । यो सरकार असफल भयो भने मुलुक नै असफल हुने भएकाले सबैले यसतर्फ ध्यान दिन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्