प्रजातन्त्र दिवसमा भावुक बने मुख्यमन्त्रीः ‘नेपालीका सपना बदलिए’



हेटौंडा ।
प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेल प्रजातन्त्र दिवस मनाउने विशेष कार्यक्रममा निकै भावुक बन्नुभएको छ । उहाँले मुलुकले समृद्धिको लक्ष्य हासिल गर्न सक्दामात्र प्रजातन्त्रले सार्थकता पाउने भन्दै आर्थिक बिपन्न नेपालीको पीडा सम्झेर चिन्ता व्यक्त गर्नुभएको हो ।
उहाँले भन्नुभयो–शिक्षित युवाको रोजाइ अष्ट्रेलिया, क्यानडा बनेको छ । श्रम र सिप भएका युवाको रोजाइ मलेसिया, कतारजस्ता देश बन्न पुग्यो । हाम्रा युवाको भरमा कतार र मलेसियामा आलिसान महल ठडिए, पूर्वाधार विकास गरियो । तर, हामी जसोतसो घिस्रियौं । यो अबस्था लामो समय रहन सक्दैन । रहनुहुन्न । र, परिवर्तन आरम्भ भएको छ ।

उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा नेपाली जनताले गरेको त्याग, संघर्ष र बलिदानप्रति साँचो अर्थमा सम्मान हुने बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र दिवस मुल समारोह समिति प्रदेश–३ को आयोजनामा हेटौंडामा भएको कार्यक्रममा उहाँले ‘सुखी नेपाली–समृद्ध नेपाल’ अभियान सार्थक बनाउने गरी लागिपर्न आग्रह गर्नुभयो ।

संविधानअनुसार संघ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकार यतिबेला मुलुकलाई समृद्धिको बाटोतर्फ लैजान काम गरिरहेका छन् । देशको इतिहासमा पहिलोपटक अभ्यासमा आएको प्रदेश सरकार अनेक चुनौतीका बाबजुद ‘सुखी नेपाली–समृद्ध नेपाल’ अभियानको सार्थक कार्यान्वयनका लागि दृढतापूर्वक लागिपरेको मुख्यमन्त्री पौडेलले बताउनुभयो ।

‘प्रजातन्त्र स्थापनादेखि हालसम्म आइपुग्दा देशमा धेरै कुरा बदलिएका छन् । यस क्रममा निर्दलीय पञ्चायती व्यबस्था, बहुदलीय व्यबस्था, निरंकुश राजतन्त्र हँुदै संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका छौं,’ उहाँले भन्नुभयो–व्यबस्थाहरु मात्र बदलिएका होइनन्, नेपालीका सपना बदलिएका छन् । आकांक्षा बदलिएका छन् । हाम्रो चेतना, हाम्रो जीवन पद्धति, हाम्रो सँस्कार र सँस्कृति पनि बदलिएका छन् ।
उहाँले मानिसका जीवन दिन प्रतिदिन सरल र सहज बन्दै गइरहे पनि नेपालीको जीवन कष्टप्रद रहेकोमा दुःख व्यक्त गर्नुभयो । भन्नुभयो–युवाहरु अवसरबञ्चित छन् । थुप्रै जनता गाँस, बास र कपासको समस्यामा छन् । यो युग सुहाउँदो कुरा होइन । यसलाई परिवर्तन गर्नुपर्छ, गर्न सकिन्छ । विडम्बना, प्रचुर सम्भावनाले भरिएर पनि अविकास र पछौटेपनको शिकार हुनपुग्यौं ।

पूर्वाधार विकास, कृषिको आधुनिकीकरण, पर्यटन क्षेत्र बिस्तार एवम् प्रवद्र्धन, युवा उद्यमशीलता विकास, लगानी एवम् उद्योगमैत्री वातावरण निर्माण आदिमार्फत् समृद्धिको लक्ष्य हासिल गर्न सकिनेमा उहाँले जोड दिनुभयो ।

हाल विकास र समृद्धि नेपाली मिडिया र वौद्धिक वृत्तमा केन्द्रीय बहसको विषय बन्न थालेको उहाँले बताउनुभयो । विकासको जस लिन हानथाप हुन थालेको भन्दै उहाँले केही गर्न सकिन्छ, यो देश बन्छ, बनाउन सकिन्छ भन्ने धारणा विकास भएकोमा भने खुशी बाँड्नुभयो ।
उहाँले सानो देशका गरिब जनता भन्ने हीन भावनाबाट मुक्ति मिलेको, भुगोल सानोठूलो भए पनि स्वाधिनता र स्वाभिमान समान हुन्छ भन्ने मान्यता स्थापित भएको बताउनुभयो । ‘युवा उद्यमशीलतातर्फ आकर्षित भएका छन् । विदेश जाने क्रम कम भएको छ,’ उहाँले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रमजस्ता घोषणा कार्यान्वयनले नयाँ ऊर्जा र उत्साह सञ्चार गरेको बताउनुभयो । यी अभियानहरु पूर्णरुपमा कार्यान्वयन हुने र नेपाली जनताको वर्षौंदेखिको सपना पूरा हुने दाबी उहाँले गर्नुभयो ।
मुख्यमन्त्री पौडेलले नेपाली मिडियाले सधैं नकारात्मकतालाई प्रश्रय दिएको भन्दै भन्नुभयो–हामीले सधैं निराशाको कुरा ग¥यौं ।

मिडियाका हेडलाइनहरुले सधैं नकारात्मकतालाई प्रश्रय दिए । चिया चौतारादेखि तारे होटलसम्म उत्साह जगाउने चर्चा हुँदैनथ्यो । भएन, हुँदैन, गर्न सकिँदैन, बिग्रियो, भत्कियो जस्ता शव्दहरु सुन्ने आदत भइसकेको थियो । तर, आज बहसको विषय बदलिएको छ ।

कार्यक्रममा प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले व्यक्तिभन्दा विधिको शासनका लागि सबै लागिपर्नुपर्ने बताउनुभयो । सबै क्षेत्र समृद्धितर्फ उन्मुख हुनुपर्ने उहाँले भनाइ थियो ।

कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, आर्थिक मामिला ताथ योजना मन्त्री कैलाश ढुंगेल, उद्योग, पर्यटन तथा बन मन्त्री अरुण नेपाल, प्रदेश सांसद्द्वय मुनु सिग्देल र जुनेली श्रेष्ठ, प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलाल, प्रमुख सचिव आनन्दराज ढकाल, समन्वय समिति उपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगर उपमेयर मीना लामा, विभिन्न मन्त्रालयका सचिवलगायतको उपस्थिति थियो । हेटौंडाको भुटनदेवी चौरबाट प्रभातफेरीसहित ¥यालीले हेटौंडा बजार परिक्रमा गरेर मुख्यमन्त्री कार्यालयमा सभा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्