पनौतीमा म्याराथुन दौडको तयारी तिव्र



नेपाल समाचारपत्र, काभ्रे ।
मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको मनोस्पन्दन नेपालले काभ्रे जिल्लाको पनौती नगरपालिकामा म्याराथुन दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । फिजिकल हेल्थको मात्र धेरै चर्चा भैरहेको बेला आम सर्वसाधारणलाई मानसिक स्वास्थ्यको बारेमा जनचेतना जगाउन यो प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

काठमाडौंको विजुली बजारमा रहेको मनोस्पन्दन नेपालले पनौती ४ टौखाल स्थित श्री अम्बिका बाल विकास आधारभुत विद्यालय प्राङ्गण बाट प्रतियोगिता शुरु हुने छ । आउदो २५ गते शनिवार आयोजना गर्न लागिएको यो प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको प्रतियोगिता संयोजक अनिल थापाले बताउनु भएको छ ।

प्रतियोगितामा २१ किलोमिटर दौडमा १६ वर्ष माथिकाले मात्र भाग लिन पाउने छन् । २१ किलोमिटरको रुट अम्बिका बालविकास आधारभुत विद्यालय चौर बाट पनौती बसपार्क, बासडोल, चामखर्क, कुशादेखि, देउराली भञ्जाङ हुदै मल्पी बाट बसपार्क हुदै अम्बिका बालविकास आधारभुत विद्यालय चौरमै आई टुङ्गिने छ । हाफ म्याराथुन २१ कि.मि खुल्ला नाम दिइएको यो दौडमा प्रथम हुने महिला र पुरुषले २०÷२० हाजार रुपैया नगद पुरस्कार पाउने छन् ।

अर्को ५ किलोमिटर म्याराथुन दौडको खुल्लामा सबैले भाग लिन पाएपनि अर्को प्रतियोगितामा भने स्कुलका विद्यार्थिहरुले भाग लिन पाउनेछन् । ५ किलोमिटर दौडको रुट विद्यालय प्राङ्गण बाट पनौती बसपर्क हुदै ज्यालाचिटि बाट पुन विद्यालय प्राङ्गण आएपछि टुङ्गिने छ । यो प्रतियोगिताको खुल्ला तर्फ प्रतियोगितामा प्रथम हुने महिला र पुरुषले आठ÷आठ हजार नगद पुरस्कार पाउनेछन् भने विद्यार्थितर्फ प्रथम हुने छात्रा र छात्रले पाँच÷पाँच हजार नगद पुरस्कार पाउनेछन् ।

प्रतियोगिता संयोजक थापाले जानकारी दिए अनुसार ५ किलो मिटर दौड खुल्ला तर्फ महिला पुरुषले ५ सय रुपैया दस्तुर बुझाउनुपर्नेछ । ५ किलोमिटर दौडमा भाग लिने विद्यार्थिको लागि भने ४ सय रुपैया शुल्क निर्धारण गरिएको छ । २१ किलोमिटर दौडको लागि इन्ट्रि फि एकहजार निर्धारण गरिएको छ । विदेशी प्रतियोगिको लागि भने ५ किलोमिटर दौडको लागि २ हजार र २१ किलोमिटर दौडको लागि ३ हजार रुपैया तोकिएको छ । सबै प्रतियोगिहरुको लागि टि–सर्ट, मेडल तथा प्रमाणपत्र उपलब्ध गराईने संयोजक थापा बताउनुहुन्छ ।

प्रतियोगिताको मुख्य उदेश्य मानिसिक स्वास्थ्य बारे जनचेतना जगाउनु रहेपनि यो प्रतियोगिताले पनौतमिा पर्यटन क्षेत्रको विकासमा समेत टेवा पुग्ने आयोजकको दाबी छ । पनौति नगरपालिका प्रकृतिक सुन्दरताले भरिपुर्ण भएपनि ओझेलमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्