पूर्वाधारको काम अन्तिम चरणमा



सरोज यादव, विराटनगर
नेपालमै पहिलोपटक काठमाडौं बाहिर विराटनगरमा हुने पाँचौं साफ महिला च्याम्पियनशीप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । साफ महिला फुटबल प्रतियोगितालाई लक्षित गरि मुख्य खेलमैदान, प्रशिक्षण र अभ्यास खेल मैदानको स्तरोन्नती तथा व्यवस्थापन लगायत तयारीहरु अन्तिम चरणमा पुगेका छन । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा यही फागु्न २८ गतेदेखि चैत ८ सम्म हुने प्रतियोगिताका लागि विराटनगरमा चारवटा खेलमैदानको स्तरोन्नती भइरहेको छ ।

मुख्य खेल मैदानको रुपमा शहीद मैदानको व्यवस्थापन भइरहेको छ । त्यसबाहेक दिल्ली पब्लिक स्कुल, प्रदेश प्रहरी तालिम केन्द्र रानी र विराटनगर जुट मिलको खेलमैदानलाई अभ्यासका लागि मर्मत गर्न थालिएको छ । विराटनगर महानगरपालिका र एन्फाबीच भएको सम्झौताअनुसार खेल सुरु हुनुभन्दा १५ दिन अगाडि निर्माण कार्य सम्पन्न गरेर एन्फालाई हस्तान्तरण गर्ने सहमति भएको थियो । सहमतिअनुसार अहिले ७० प्रतिशत काम सम्पन्न भैइसकेको महानगरपालिकाका मेयर भीम पराजुलीले बताए ।

मैदान आसपासको सडकको कालोपत्रे गर्ने, मैदानभित्रै आवश्यक पर्ने संरचना निर्माण गर्ने र मैदान पेरिफेरी रंगरोगनको कामसमेत अन्तिम चरणमा पुगेको उनले बताए । एन्फासँग हाम्रो सहमति अनुशार फागुन १५सम्म हामीले सरचना तयार गर्ने हो मेयर पराजुलीले भने हामीले अहिले ७० प्रतिशत काम पूरा गरिसकेका छौ । प्रतियोगितामा अन्तर्राष्ट्रियस्तरबाट ३ सयभन्दा बढी प्रतिनिधि, खेलाडी तथा खेल प्रशंसकको प्रत्यक्ष उपस्थिति रहने बताइएको छ ।

नेपाल, भारत, भुटान, पाकिस्तान, बंगलादेश, मालदिभ्स र श्रीलंकाका राष्ट्रिय महिला फुटबल टिमको सहभागिता हुने प्रतियोगितामा आवश्यक पर्ने खेल संरचनाको मर्मत र स्तरोन्नती, मुख्य खेलमैदान शहीद रंगशाला परिसरमा चेन्जीङ रुम व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको जनाइएको छ । काठमाडौं बाहिर पहिलोपटक हुन लागेको साफ महिला च्याम्पियनसिप प्रतियोगिता व्यवस्थित तरिकारले अगाडि बढाउने एफाका प्रबक्ता किरण राईले बताए । मुख्य मेलमैदान तथा अभ्यास मैदानको लेवलिङ, माटो फिटिङको कामसमेत अहिले धमाधम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्