विपद् व्यवस्थापनमा संवेदनशील बन



विपद् व्यवस्थापन शहरको मुख्य चुनौती बनेको छ । शहरमा जनसंख्या वृद्धिसँगै अनेक विपद् आइपर्ने हुन्छ । यस्ता आकस्मिक विपद्मा मानिसको मृत्यु हुने, घाइते हुने सम्भावना अधिक हुन्छ । तर नेपालको सन्दर्भमा, जसरी शहरी क्षेत्र अव्यस्थित र अनियन्त्रित तवरले बढ्दै गएको छ, त्यसै गरी मानवीय कारणले आउने विपद् होस् या प्राकृतिक विपद्को व्यवस्थापन कमजोर हुँदै गइरहेको छ ।

अझ विपद् व्यवस्थापनमा राज्यस्तरबाट लापरबाही हुँदै आइरहेको छ । यस पृष्ठभूमिमा विदेशमा थोत्रा भएर फाल्ने अवस्थामा पुगेका दमकल नै काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा आगलागी नियन्त्रणमा प्रयोग हुँदै आएको समाचार बाहिर आएको छ । यसले विपद् व्यवस्थापनमा राज्यको असंवेदनशीलता र लापरबाहीलाई उजागर गरेको छ ।

विदेशमा फाल्ने अवस्थामा भएका दमकल नेपालको लागि आगलागी नियन्त्रणको भरपर्दो सवारीसाधनको रुपमा प्रयोग हुँदै आएको छ । विदेशमा काम नै नलाग्ने भनिएपछि ती दमकलहरु नेपालको भूमिमा डम्पिङ साइडको रुपमा थुप्रिँदै आएको छ । काठमाडौं महानगरपालिकाको स्वामित्वमा रहेको दमकल कार्यालयमा रहेका अधिकांश दमकल करिब दुई दशक पुराना छन् । दातृ निकायले नेपाललाई सहयोगस्वरुप आगलागी नियन्त्रणमा प्रयोग हुने पुराना दमकल र अन्य सवारीसाधन उपहारको रुपमा दिने गरेका छन् । यसले दातृ निकायले नेपालको विकासस्तरलाई कुन तरिकाले र कसरी लिइरहेका रहेछन् भन्ने स्पष्ट हुन्छ । फेरि नेपालले पुराना दमकल भए पनि देऊ भन्ने वा दिएको खण्डमा लिन्न भन्न नसकेकाले पनि यस्तो अवस्था आएको छ । यसो हुनु भनेको नेपालका लागि लज्जास्पद हो ।

अहिले राजधानी मात्रै होइन, यसवरपरका जिल्लामा आगलागी हुँदा पुराना र थोत्रा दमकलकै भर पर्नुपरेको छ । स्थानीय तहको पुनः संरचना गर्दा बलियो विकासको इकाइका रुपमा गाउँपालिका वा नगरपालिकाको विकास गर्ने लक्ष्य राखिएको थियो । लक्ष्यअनुरुप सोही हिसाबले पूर्वाधार बनाउने दिशामा अग्रसर नभएको पनि यस अवस्थाले देखाएको छ । विपद् बाजा बजाएर आउँदैन । जुनसुकै बेला नसोचेको समयमा विपद्का घटना हुने गर्छन् । तीन वर्षअघिको विनाशकारी भूकम्पका बेला ठूलो विपद् आइपरेको थियो ।

यस अवस्थामा आइपरेको आकस्मिक विपद् व्यवस्थापन गर्न सरकारले निकै कसरत गर्नुपरेको थियो । भूकम्प मात्र होइन, बाढी–पहिरो, आगलागी, महामारीजस्ता विपद्मा सरकार, स्थानीय तह, नागरिक सबै निकाय विपद् व्यवस्थापनमा चुस्त–दुरुस्त हुनुपर्छ । सानो असावधानीको परिणाम ज्यान नै जान सक्ने अवस्था आउँछ ।

अतः आगलागीजस्तो विपद् व्यवस्थापनमा सरकार, स्थानीय तह संवेदनशील भएर उच्च प्र्रविधियुक्त अग्नि नियन्त्रक यन्त्रहरु खरिद गर्नुपर्छ । साथै दातृ निकायले यस्ता यन्त्र अनुदान दिँदा गुणस्तरीयतामा ध्यान पु¥याउनै पर्छ । विपद् व्यवस्थापनका लागि पूर्वतयारी हुनै पर्छ ।

प्रतिक्रिया दिनुहोस्