आन्तरिक पर्यटन वर्ष २०१९ मा १५ लाख पर्यटन भित्र्याइने



चिप्लेढुङ्गा ।
गण्डकी प्रदेश सरकाले राष्ट्रिय लक्ष्यसँग मेल खाने गरी सन् २०१९ लाई गण्डकी प्रदेश आन्तरिक पर्यटन वर्ष २०१९ मनाउन लागेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यही फागुन ९ गते घोषणा गर्नै आन्तरिक पर्यटन वर्ष २०१९ मा १५ लाख आन्तरिक पर्यटक प्रदेशमा भित्र्याइने लक्ष्य रहेको मन्त्री विकास लम्सालले जानकारी दिनुभयो । सङ्घीय सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरी २० लाख बाह्य पर्यटक नेपाल भित्र्याउने घोषणा गरिसकेको छ ।

सरोकार भएकाहरुसँग मस्यौदा कार्य योजनासम्बन्धी आजको छलफलमा मन्त्री लम्सालका अनुसार सङ्घीय सरकारले सार्वजनिक गरेका पर्यटकीय गन्तव्यमध्ये गण्डकी प्रदेशमा मात्र १४ वटा छन् । तीबाहेक पनि थुप्रै पर्यटकीय सम्भावना यस क्षेत्रमा छन् ।

सङ्घीयताको नयाँ अभ्यासबाट प्रदेशको समृद्धिका लागि शुरु गरिएको भ्रमण वर्ष सफल बनाउन सबैले आआफ्ना ठाउँबाट पहल र प्रचार प्रसार गर्नुपर्नेमा उहाँको जोड थियो । मन्त्री लम्सालले भन्नुभयो “राज्यले प्रमुख दायित्व पूरा गर्छ, निजी क्षेत्र पनि सहायक भूमिका निर्वाह गरेर अगाडि बढ्नुहोस् ।” सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्रै पर्यटन उद्योग फस्टाउन सक्ने उहाँको धारणा थियो ।

मन्त्री लम्सालले आन्तरिक भ्रमण वर्षबाट पर्यटन विकासमा टेवा पु¥याएर जीविकोपार्जन र आयआर्जनका अवसर वृद्धि गरी दिगो विकासका लक्ष्य प्राप्त गर्न सहयोग पुग्ने विश्वास ब्यक्त गर्नु भयो ।

छलफलमा आन्तरिक पर्यटन वर्ष २०१९ अभियानको प्रतीकचिह्न र नाराका विषयमा सरोकार भएकाहरुको धारणासहित आवश्यक सुझाव सङ्कलन गरिएको थियो । गण्डकी प्रदेशको प्रकृति, संस्कृतिसहित साहसिक खेल प्रतिविम्ब हुने गरी तयार गरिएको मस्यौदा प्रतीकचिह्न सार्वजनिक गर्दै आवश्यक सुझाव मागिएको छ । प्रतीकचिह्नमा ‘फर नेचर, कल्चर र एडभेन्चर’९प्रकृति, संस्कृति र साहसका लागि’ नारा जोडिएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गण्डकी प्रदेशका सबै जिल्लाले अपनत्व महसुस हुने गरी कार्ययोजना बनाउनुपर्ने बताउँदै सबै जिल्लाका ८५ वटै स्थानीय तहसँग समन्वय गर्न सुझाव दिनुभयो ।

छलफल कार्यक्रममा पर्यटन वर्षको औचित्य, लक्ष्य, उद्देश्य र कार्ययोजनाका बारेमा मस्यौदा समितिका संयोजक एवं नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशका प्रबन्धक सूर्य थपलिया र मन्त्रालयका प्रवक्ता दिवाकर पौडलले जानाकारी दिनुभएको थियो । प्रदेशका ११ वटै जिल्लाका पर्यटकीय गन्तव्य र त्यसका विशेषता झल्कने गरी तयार गरिएको पर्यटकीय गन्तव्यको पाश्र्वचित्रसमेत प्रस्तुत गरी आवश्यक रायसल्लाह मागिएको थियो ।
रासस

प्रतिक्रिया दिनुहोस्