लागुऔषध कारोवारमा सङ्लग्न २३ जना पक्राउ



काबुल ।
अफगानिस्तानमा अफगान विशेष सुरक्षा बलले गरेको कारवाहीको क्रम लागुऔषध ओसारपसारमा लागेका सदिग्ध २३ व्यक्तिलाई पक्राउ गरिएको छ ।

अफगान प्रहरीको विशेष बलले गत सात दिनमा अफगानिस्तानको विभिन्न प्रान्तमा जारी राखेको कारवाहीका क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

लागुऔषध ओसारपसारसम्बन्धी दर्ता भएका २१ वटा मुद्दामा २३ जना पक्राउ परेका सरकारले प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिइएको छ । पक्राउ परेका यी व्यक्तिहरुमा सार्वजनिक सेवामा सङ्लग्न तीन व्यक्ति पनि पक्राउ परेका जारी विज्ञप्तिमा जनाइएको छ ।

यस कारवाहीको क्रममा १० वटा सवारी साधन, एउटा तीन पाङ्ग्रे रिक्सा र २७ वटा मोबाइल फोन र तीन हजार ३०० अमेरिकन डलर पनि बरामद गरिएको छ । अफगानिस्तानको पश्चिम र दक्षिण भागमा सन् २०१८ मा छ हजार ४०० टन अफीम उत्पादन भएको पनि समाचारमा जनाइएको छ । यसैगरी सन् २०२७ मा नौ हजार टन अफीम उत्पादन भएको थियो ।
रासस

प्रतिक्रिया दिनुहोस्