गत वर्ष उत्कृष्ट कर्मचारीको पुरस्कार, यस वर्ष ६० हजार घूससहित पक्राउ



मनोज भट्ट , महेन्द्रनगर ।
कञ्चनपुरको बेलौरी नगरपालिकाको प्रथम नगरसभाको उद्धघाटन सत्रमा बेलौरी नगरपालिकाको योजना शाखा प्रमुख हृदयराज बजगाईँलाई उत्कृष्ठ कर्मचारीको रुपमा सम्मानित गरिएको थियो । न्यूनतम शर्त तथा कार्य सम्पादन मापनमा बेलौरी नगरपालिकालाई सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै योजना शाखा प्रमुख ईन्जिनियर बजगाईँलाई सम्मानपत्र र दोसल्ला सहित सम्मानित गरिएको थियो । तर उक्त सम्मान पाएको एक बर्षमै उनी ६० हजार घुस सहित रंगेहात पक्राउ परेका छन् ।

कञ्चनपुरको बेलौरी नगरपालिकाका सब–इन्जिनियर बजगाईलाई ६० हजार घुस सहित रंगेहात अख्तियारले पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरले बजगाईलाई नगद ६० हजार घुस सहित आईतवार पक्राउ गरेको थियो । कल्भर्ट निर्माणको अन्तिम बिलमा सेवाग्राहीबाट ६० हजार रकम घुस लिइरहेको अवस्थामा पक्राउ परेका हुन् ।

उत्कृष्ट कर्मचारीको पुरस्कार पाएको एक बर्षमै ६० हजार घुस सहित पक्राउ परेपछि सम्मानको मापदण्डका विषयमा प्रश्न खडा भएको छ । बेलौरी नगरपालिकाका मेयर पोतीलाल चौधरीले जनप्रतिनिधि भर्खर आएका बेला कर्मचारीबाटै सम्मानका लागि सिफारिस भएपछि सम्मान गरिएको बताए ।

यता बेलौरीका बासिन्दाले भने उत्कृष्ट कर्मचारी छनौट गर्ने परिपाटीको आलोचना गरेका छन् । स्थानीय खड्क शाहले नगरपालिकाका पदाधिकारीहरुले केको आधारमा उत्कृट कर्मचारीको पुरस्कार दिए ? भन्दै प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्