पशुपतिको लुट्न सके लुट हटाइएपछि…



लोकप्रिय लोकगायक पशुपति शर्माको सार्वजनकि भएलगत्तै तहल्का मचाएको राजनैतिक र सामाजिक विसंगतिविरुद्धको व्यङ्ग्य गीत लुट्न सके लुट कान्छा लुट् अरु देशमा पाईंदैन नेपालमै हो छुट युट्युबबाट हटाएको छ। गीतमा राष्ट्रपति विद्यादेवी भण्डारीले चढ्ने डेढ अर्बको हेलिकोप्टर प्रसंगदेखि राजनीतिका नाममा देखिएका विकृति र विसंगति, वाइडबडी हवाईजहाज प्रकरण, ३३ किलो सुनका प्रसंगदेखि राजा हटाइएपछि देशमा यमराजको शासन चलेको जस्ता शब्द प्रयोग गरिएको थियो।

सरकारका काम कारबाही तथा भ्रष्टाचारका बारेमा तिखो व्यङ्ग्य गरिएको छ। ‘पञ्चायत सुनें, बहुदल र गणतन्त्र भोगें, तर देश र जनताको निःस्वार्थरूपले माया गर्ने न त नेता भेटें नत अरु कोही। त्यसैले भन्न मन लाग्यो लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरु देशमा पाईंदैन नेपालमै हो छुट। पशुपतिले आपैmंद्वारा रचित तथा संगीतबद्व गीतको शुरूमै गाएका छन्। मलाई अमेरिका नि यै गायक शर्माकै आधिकारिक युट्युब च्यानलमा अपलोड गरिएको गीत दुई दिनमै शनिबार ट्रेन्डिङ ५ बाट अगाडि बढिरहेको थियो। सरकार र सत्तापक्षीय पार्टीबाट आएको तीव्र दबाबका कारण गीत युट्युबबाट हटाइएको बताइएको छ। ‘यो विशुद्व व्यङ्ग्यात्मक गीत हो। ‘गीतको व्यङ्ग्य बुझौं, देश लुट्नेलाई बहिष्कार गरौं’ म्युजिक भिडियोको अन्त्यमा लेखिएको छ।

‘मेरो लुट्न सके लुट कान्छा भन्ने गीतमा यहाँहरूले देखाउनुभएको सहभागिताका लागि हार्दिक आभार व्यक्त गर्न चाहन्छु। तर सोही गीतमा प्रयोग भएका केही शब्दलाई लिएर विरोध सिर्जना गर्न खोजिएकाले म आफ्ना कुरा यहाँहरूसमक्ष राख्न गइरहेको छु’, गायक शर्माले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्– ‘सर्वप्रथम त म राजनीतिलाई त्यति गहिराइबाट बुझ्दिनँ। तर सुशासन कायम हुनुपर्छ र देशमा विसंगति व्याप्त हुनुहुँदैन भन्ने कुरामा म सचेत छु। मेरो गीतले विसंगतिलाई व्यङ्ग्य गरोस् भन्ने मेरो एकमात्र ध्येय थियो।’ उनले प्रष्ट पारेका छन्– ‘मैले कुनै राजनैतिक आग्रह या पूर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनैतिक दल या संस्थासँग मेरो कुनै किसिमको पूर्वाग्रह पनि छैन।

तर गीतमा समावेश केही शब्दमा मेरा केही शुभचिन्तकको असन्तुष्टि रहन गएकाले जुन जुन शब्दमा असन्तुष्टि देखियो म ती शब्दलाई परिमार्जन गर्न गइरहेको छु। केही समय लाग्ला जुन शब्दमा असन्तुष्टि देखियो ती शब्दलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने सम्झिएको छु।’ दबाबमा परेकाले युट्युबबाट गीत हटाउन बाध्य भएको संकेत गर्दै उनले लेखेका छन्– ‘सुझाव दिनुहुने राजनैतिक व्यक्तित्वहरू, मेरा अग्रज एवं समकालीन साथीहरूलाई म धन्यवाद दिन चाहन्छु। साथै कुनै शब्दले कुनै संस्था विशेष या कुनै दल अथवा समुदाय विशेषलाई अफ्ठ्यारो पारेको खण्डमा म अन्तर हृदयदेखि माफी चाहन्छु। मेरो नियत कसैको चित्त दुखाउने नभई केबल विसंगतिमाथि प्रहार गर्नु र विकृतिको उजागर गर्नु मात्र थियो। यसमा म पुनः प्रष्ट पार्न चाहन्छु। अहिले डिजिटल प्लेटफर्म युट्युबमा रहेको गीतलाई परिमार्जनसहित पुनः लिएर आउने बाचा गर्दै अहिले बजिरहेको गीत युट्युबबाट मैले हटाउने निर्णय गरेको छु र अन्त्यमा म पनि यही देशको एक सचेत नागरिक साथै कलाकार भएको नाताले देशमा विद्यमान भ्रष्टाचार, घूसखोरी र जिम्मेवारहरूको अकर्मण्यताविरुद्ध आवाज उठाउन पाउने मेरो नैसर्गिक अधिकार हो भन्ने कुरामा म दृढ रहेको कुरा पनि दोहोर्यायन चाहन्छ।’

लुट्नसम्म लुट कान्छा, लुट्नसम्म लुट। धेरै बोले कारबाही हुन्छ, चुप लागेर सुत। – दीपकराज गिरी

गायक पशुपति शर्मा आफैंले केही शब्दहरूमा कमजोरी महसुस गरेर विवादित शब्द युट्युबबाट हटाइसकेको अवस्थामा फेरि पनि उहाँलाई बहिष्कार गरौं भन्नेसम्मको सोच खेदजनक छ। पशुपति शर्मालाई राजनैतिक पक्ष विपक्षमा विभाजित गर्नु पनि गलत छ। उहाँ स्वतन्त्र कलाकार हो। उहाँले सोही गीतलाई परिमार्जन गरेर ल्याउनुहुनेछ र सो गीतले सकारात्मक सन्देश दिनेछ र दिएको छ। भ्रस्टाचारविरुद्धको अभियानलाई सहयोग पुर्याउनेछ। यद्यपि हाम्रो आधिकारिक धारणा केन्द्रीय कार्यसमितिको बैठकपछि सार्वजनिक गर्नेछौं। – बद्री पंगेनी (लोकगायक तथा अध्यक्ष, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान)

गीत संगीतलाई गीत संगीतकै रूपमा पो हेरिदिइनुपर्छ त। यति धेरै इगो कदापि राम्रो भएन। – हेमन्त शर्मा


भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता भनेर प्रधानमन्त्रीले घोषणा भएको मुलुक तेस्रो भ्रष्ट मुलुक बन्दा कुनै प्रतिक्रिया आउँदैन। श्रष्टाहरूको सिर्जनाको उठ्न थालिसकेको रोयल्टी बन्द हुन्छ, सरकारलाई चासो हुन्न। तर राष्ट्रको वास्तविकता बोलेको एउटा आवाज बन्द गर्न सबै जुटेर लागिन्छ। यस्तै हुने होला अबको समृद्ध नेपालमा? – विपीन किरण

 

खै हामी कुन संसारमा छौं। यो त राणा शासनभन्दा केही फरक भएन। कलाकार एउटा समाज परिवर्तनको संवाहक हो। वास्तवमा देखेको कुरा लयात्मक शैलीमा सम्प्रेषण गर्नु कलाकारको दायित्व पनि हो। म पशुपति शर्मालाई नजिकबाट चिन्छु। उसमा कसैप्रति पनि राजनीतिक आग्रह पूर्वाग्रह छैन। उसले सधैं जनताकै कलाकार भएर गीत गाउँछ। तर यो गीतमा केही कमजोरी भए होलान्। नियतवश होइन र केही अनलाइनले सम्माननीय राष्ट्रपतिसँग फोटोसफ्ट गरेर समाचार बनाउनु गलत हो। गीतले भन्न खोजेको आशय गलत होइन। त्यसैले गीतलाई नै ब्यान्ड गर्नुपर्छ जस्तो मलाइ लाग्दैन। एउटा राष्ट्रको सम्मानित कलाकारलाई अनेक अपशव्दहरू प्रयोग गरेर अतिरञ्जित नगरियोस्। यस्ता शव्दले हामी सम्पूर्ण कलाकारलाई पीडा महसुस भएको छ। – मञ्जु पौडेल

 

 

 

 

लुट्न सके लुट कान्छा लुट्न सके लुट।
लुट्या कुरा थाहा पाउनेलाई भेट्नासाथै कुट।।
कलियुग लागेपछि उल्टो बग्छ खोलो।
पशुपतिमा ओइरिएछ अरिंगालको गोलो।।
केदार घिमिरे ‘माग्ने बुढा’

प्रतिक्रिया दिनुहोस्