दुई दशकपछि छाप्रोबाट अस्पताल



नेपाल समाचारपत्र, हेटौंडा
पहिले सामान्य व्यक्तिजस्तै भए पनि करिब २१ वर्ष अघिदेखि मानसिक सन्तुलन गुमाएका दशरथलाई आमाले स्याहारसुसार गर्दै आएकी थिइन् । आमाको निधनपछि दाइभाउजुले हेर्दै आएका थिए । सधैंजसो मनलाग्दी गर्न थालेपछि उनलाई छाप्रोमा फलामे सिक्रीले बाँधेर राखिएको थियो ।
घरमा राख्दा भुइँ, भित्ता भत्काउने, कोतर्ने, बालबच्चालाई जेपायो त्यसैले हिर्काउने र मार्न खोज्ने भएका कारण छाप्रोमा बाँधेर एक्लै राखिएको थियो ।

कामका लागि भारत गएर आएपछि उनको मानसिक सन्तुलन गुमेको दशरथकी भाउजु कान्छी गुरुङले बताउनुभयो । नगरपालिकाको टोलीले एम्बुलेन्ससहित उद्धारका लागि लिन जाँदा परिवारले उनलाई जन्ती जाने बहानामा मनाएर तयार गरेपछि एम्बुलेन्समा राखिएको थियो ।

करिब ४० वर्षका सुनिलले ५ वर्षदेखि मानसिक सन्तुलन गुमाएका थिए । जंगल जाँदा अरिंगालले टोकेको र पछि हिँड्दा लडेर खुट्टाको हड्डी मर्किएपछि सुनिलले मानसिक सन्तुलन गुमाउन पुगेको उनका भाइ सुमन रुपाखेतीले बताउनुभयो ।

मकवानपुर थाहानगर–७, चल्तीका ४२ वर्षीय दशरथ कार्की र थाहा–७, महादेवखर्कका ईश्वरीप्रसाद रुपाखेती (सुनिल) को नगरपालिकाको पहलमा उद्धार गरिएको हो । लामो समयदेखि मानसिक सन्तुलन गुमाएका रोगीद्वयलाई उपचारका लागि एम्बुलेन्समा राखेर अस्पताल पु¥याइएका छ ।

परिवारले कार्कीलाई २०५४ सालदेखि देब्रे खुट्टामा साङ्लोले बाँधेर छुट्टै छाप्रोमा राख्दै आएका थिए । साङ्लो छाप्रोभित्र खाँबो गाडेर अड्याइएको थियो । कार्की चौबीसै घण्टा त्यहीं रहन्थे । भुइँमा फल्याक ओच्छ्याइएको थियो । राति त्यसैमा सुत्थे । आङ छोप्ने लुगा मयलले ‘काती’ परेका र हातखुट्टा उस्तै फोहोर । दशरथ दिसापिसाब पनि छाप्रोभित्र गर्थे । त्यसका लागि प्लास्टिकका बाटा राखिएका थिए ।

मकवानपुरको थाहानगरका २ जना मानसिक रोगका बिरामीलाई थाहा नगरपालिकाले उद्धार गरेको हो । थाहा नगरप्रमुख लवशेर बिष्ट, उपप्रमुख खड्ग गोपाली, नेकपा नेता विष्णु बिष्ट (आदर्श), सिनियर अहेब चिनिया लामा, ७ नम्बर वडाध्यक्ष सनमसिं मोक्तानलगायत टोलीले उद्धार गरी उनीहरुलाई पाटनको मानसिक अस्पताल पु¥याएको हो ।

दुवै जनाको परिवारको आर्थिक अवस्था कमजोर भएकोले लामो समयसम्म पनि उपचार गराउन सकेका थिएनन् । दशरथलाई ३ महिना पहिले पनि उपचारका लागि सबै व्यबस्था गरेर नगरपालिकाले पठाए पनि बिरामी कुर्ने मान्छेलाई खर्च नभएपछि उपचार हुन सकेको थिएन ।

थाहानगरका दुई मानसिक बिरामीको परिवारलाई अस्पतालमा कुरुवाका लागि नगरप्रमुख बिष्ट र उपमेयर गोपालीले २ परिवारलाई ५÷५ हजार रुपियाँ व्यक्तिगतरुपमा सहयोग गर्नुभएको छ ।

बिरामी लैजान एम्बुलेन्स भाडा भने नगरपालिकाले प्रदान गर्ने भएको छ । नगरपालिकाले दुवै बिरामीको उपचारका लागि आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै नगर प्रमुख बिष्टले दुवै परिवारलाई आश्वस्त पार्नुभएको छ ।

बिरामीद्वयलाई निःशुल्क उपचार र बिरामी कुरुवालाई खाने÷पिउने व्यबस्था मिलाइने मानसिक अस्पताल पाटनले जानकारी गराएको नगर प्रमुख बिष्टले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्