अलमलमा सरकार



दुई तिहाइ बहुमत प्राप्त नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकार गठन भएको एक वर्ष पुगेको छ । सरकार गठनको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले निकै ठूलो आशा जगाएका थिए । एक वर्षअघि भएको घोषणाको शृङ्खला चल्दै छ । सरकारले नागरिकहरुको न्यूनतम आवश्यकताभन्दा पनि रेल र पानीजहाजलाई उच्च महत्व दिएको छ । सरकारले पानीजहाज कार्यालय सञ्चालनमा ल्याएको छ तर पानीजहाज कहाँबाट आउने भन्ने टुंगो लाग्न सकेको छैन ।

नागरिकहरुले अपेक्षा गरेको सुशासन हो । विकास निर्माण हो । भ्रष्टचार नियन्त्रण हो । महँगी नियन्त्रण हो । देशभित्र नै रोजगारी हो । देशलाई परनिर्भरताबाट आत्मनिर्भता बनाउने सरकार खोजेको हो । सरकारले आश्वासन धेरै दिइसकेको छ, घोषणाको त बाढी नै ल्याएको छ ।

तर नागरिकले यी कुराको अनुभूति गर्न पाएका छैनन् । ‘समृद्ध नेपाल सुखी नेपाल’को नारालाई सरकारले मूल मन्त्र ठानेको छ । तर समृद्धिको आधार के हो ? समृद्धि कसरी आउँछ ? समृद्धि भनेको केही मुठीभरका व्यक्तिहरुको लागि हो कि सिंगो जनताको लागि हो ? संविधानले स्वास्थ्य शिक्षालगायतका अधिकारलाई मौलिक हकभित्र राखेको छ । आज पनि गरिबीको रेखामुनि रहेका नागरिकले सहजरुपमा स्वास्थ्य उपचार पाउन नसकेर छट्पटाइरहेका छन् । विभदेकारी शिक्षाको खाडल पुर्नको लागि सरकारले सकेको छैन । निजी शिक्षाको कारण सरकारी विद्यालयहरु रित्तो हुने अवस्था सृजना भएको छ ।

प्रधानमन्त्री र अन्य मन्त्रीहरु अहोरात्र उद्घाटन र कार्यक्रममा व्यस्त हुँदै आएका छन् । तीन तहको सरकार गठन भएर सञ्चालनमा आएको छ । तर पनि सरकारले गति लिन सकेको छैन । प्रधानमन्त्री ओलीले घोषणा गरेका कार्यक्रमहरु कार्यान्वयन हुन नपाउँदै घोषणामाथि घोषणा गर्ने क्रम रोकिएको छैन । जनस्तरबाट आएको आलोचनालाई सरकारले पटक्कै रुचाएको छैन । नागरिकको न्यूनतम आवश्यकता पूरा गर्नतिर भन्दा पनि सरकार घोषणा र भाषणमै बढी रमाउँदै आएको छ । एक वर्षको अवधिमा गर्न सकिने र कुनै बजेट नलाग्ने काममा समेत सरकारले सफलता प्राप्त गर्न सकेको छैन ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचारीको मुख पनि हेर्दिनँ भनेका छन् । साथै प्रत्येक सरकारी कार्यालयको ढोका–ढोकामा म भष्टचार गर्दिनँ भन्ने प्रतिबद्धता लेखिएको छ । तर भ्रष्टचार दिनहुँ मौलाउँदै गएको छ । देशलाई समृद्ध बनाउनको लागि सरकारले सुशासनको क्षेत्रमा परिवर्तन नगरी सम्भव छैन । दुई तिहाइ बहुमत प्राप्त सरकार एक वर्षको अवधिमा कुहिरोभित्र हराएको कागजस्तै भएको छ ।

प्रतिक्रिया दिनुहोस्