चालकको लापरवाहीले अधिकांश दुर्घटना



सुम्निमा काफ्ले, काठमाडौं
सवारी दुर्घटनाले मृत्यु हुने र घाइते हुनेको संख्या दिनप्रति दिन बढ्दै गएको छ । बढ्दो सडक दुर्घटना प्रति प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गरि न्युनिकरणको उपाए खोजिदै छ । काठमाडौं उपत्यकामा भएको दुर्घटनाको तथाङ्क हेर्दा अधिकाशं दुर्घटना चालकको लापरवाहीले भएको देखिन्छ ।

चालु आर्थिक बर्षमा उपत्यकामा भएको ४ हजार ८ सय १ सवारी दुर्घटना मध्य ४ हजार २ सय ५७ वटा दुर्घटना चालकको लापरवाहीले भएको देखिएको छ । तीव्र गतिका कारण २ सय ८१ वटा दुर्घटना भएका छन् भने मापसेका कारण १ सय ६६ वटा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । महानगरिय ट्राफिक महाशाखाका अनुसार यान्त्रिक गडबडीका कारण जम्म २९ वटा मात्र दुर्घटना भएको छ ।

दुर्घटना बढ्नुको अर्को कारण अनियन्त्रित ओभरटेक पनि एक कारण रहेको बताइएको छ । झण्डै ५ हजार दुर्घटनामा ओभरटेकका कारण ४५ दुर्घटना भएका छन् । सडकको अवस्थाका करण २० दुर्घटना भएको छ भने पैदल यात्रुको करण २ वटा दुर्घटना भएको छ । मौसम र चौपायाका कारण जम्मा एउटा मात्र दुर्घटना भएको छ ।

यी दुर्घटनाबाट अहिलेसम्म उपत्यकामा मात्र १ सय ५२ जनाको ज्यान गएको छ भने १ सय ६८ जना गम्भिर घाइते भएका छन् । सामान्य घाइतेको संख्या ३ हजार २ सय ८४ पुगेको छ । गत आर्थिक वर्षमा अवधिमा काठमाडौं उपत्यकामा १ सय ९४ जनाको मृत्यु भएको थियो भने २ सय १९ जना गम्भिर घाइते भएका थिए । सदनमा सडक दुर्घटनाबाट भएको क्षति बारे देशभरको तथाङ्क केलाउदै न्युनिकरणको उपाए खोजी भैरहेको बेला काडमाडौं उपत्यकामा भने दुई पाग्रे सवारी साधन बढी दुर्घटना पर्ने गरेको देखिएको छ । तथाङ्क अनुसार चालु आर्थिक वर्षको हालसम्म भएको दुर्घटनामा ३ हजार १ सय १२ मोटरसाईकल र स्कुटीको संख्या देखिन्छ ।

दुर्घटनमा मृत्यु हुने मध्य ७१ जना मोटरसाइकल र स्कुटीमा सवार रहेका छन् । ट्राफिक प्रहरीका अनुसार सो समयमा भएको दुर्घटनामा ६१ जनाको मृत्यु गराउनेमा मोटरसाइकल र स्कुटी नै संलग्न रहेको देखिएको छ । उपत्यकमा भएको दुर्घटनाबाट मृत्युहुनेमा सबैभन्दा बढी १७ देखि ३५ वर्ष उमेर समुहका रहेका छन् । गम्भिर घाइते हुने पनि सबैभन्दा बढी यही उमेर समुहका रहेका छन् । यसले के देखाउछ भने काम गर्ने जोश जागर भएको उमेर समुहका युवाहरु दुर्घटनामा परेर मृत्यु र घाइते भएका छन् ।

देशभरको तथाङ्कलाई हेर्दा गत वर्षको तुलनामा सडक दुर्घटना ३० प्रतिशतले वृद्धि भैरहेको छ । सडक दुर्घटना न्युनिकरणका लागि संसदमा छलफल भएको तथाङ्कमा यस वर्ष सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या १ हजार ४ सय नाघिसकेको छ ।

सवारी साधको अत्याधिक चाप रहने उपत्यकाको ट्राफिक व्यवस्थापन गर्दै आएको महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्तकुमार पन्तका अनुसार दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रहरी सक्रिय रहेको छ । उहाका अनुसार मापसे गर्ने चालकहरुलाई सचेतना कक्षा सञ्चालन गरिएको छ भने स्कुल कलेजका विद्यार्थीहरुलाई पनि सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । सवारी दुर्घटना न्युनीकरणका लागि ट्राफिक प्रहरीले बेला बेला यातायात व्यवसायी र मजदुरहरुसंग मिलेर जनचेतनाका कार्यक्रम गर्दै आएको छ ।

एसएसपी पन्तका अनुसार महानगरीय ट्राफिक प्रहरी महाशाखाले यस आर्थिक वर्षको छ महिनामा उपत्यकाभित्र मापसे गरि सवारीसाधान चलाउने १९ हजार १ सय २८ जना लाई कारवाही गरेको छ । ट्राफिक प्रहरीले यस आर्थिक बर्षमा सवारी नियम उल्लघन गर्ने ३२ हजार २ सय ९२ सवारी चालकलाई कारवाही गरेको छ ।

प्रतिक्रिया दिनुहोस्