कांग्रेस सांसदद्वारा आज पनि सुनुवाइ समिति बहिस्कार



नेपाल समाचारपत्र, काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतबार पनि संसदीय सुनुवाई समितिको बैठक बहिस्कार गरेको छ। संवैधानिक आयोगमा सिफारिस पदाधिकारीको सुनुवाइको विषयमा छलफल गर्न आइतबार बसेको बैठक कांग्रेस सांसदले बहिस्कार गरेका हुन् ।

१५ सदस्यीय सुनुवाइ समितिमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने ४ जना सांसद छन् । कांग्रेसले संवैधानिक परिषदले प्रक्रिया नपुर्याई विभिन्न पाँच स‌ंवैधानिक आयोगका अध्यक्ष सिफारिस गरेको भन्दै यसअघि पनि संसदीय सुनुवाइ समितिको बैठक बहिस्कार गरेको थियो ।

प्रमुख प्रतीपक्ष दल नेपाली कांगे्रसका सभापती शेरबहादुर देउवाको उपस्थितिविनै गत माघ ६ गते बैठक बसेर संबैधानिक आयोगका पदाधिकारी सिफारिस भएको भन्दै कांग्रेसले आपत्ती जनाएको थियो । गत माघ ६ गते बसेको संवैधानिक परिषदको बैठकले प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, थारु आयोग, मुस्लिम आयोग र मधेसी आयोगको अध्यक्ष नियुक्ति गरेको थियो ।

कांग्रेसको बहिस्कारका बाबजुद आइतबार बसेको सुनुवाइ समितिको बैठकले प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा सिफारिस बालानन्द पौडेल र राष्ट्रिय समावेशी आयोगका अध्यक्षमा सिफारिस शान्तराज सुवेदीको फागुन ७ गते दिउँसो १२ बजे सुनुवाइ गर्ने निर्णय गरेको छ।

मुस्लिम आयोगका बाहेक अन्य चार आयोगका प्रस्तावित अध्यक्षविरुद्ध उजुरी नपरेकाले मंगलबार सुनुवाईका लागि बोलाइएको संसदीय सुनुवाई विशेष समितिले जनाएको छ ।

सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले फागुन ७ गतेको बैठकमा कांग्रेसले बहिस्कार गरे पनि बहुमतले निर्णय गर्ने जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्