धन्यवाद इच्छाकामना गाउँपालिकालाई



चितवनको एक मात्र गाउँपालिका इच्छाकामनाले दुहुना भैंसी पाल्ने किसानका लागि १ लाख रुपियाँ अनुदान दिने निर्णय गरेर किसानलाई उत्साहित बनाएको छ। सो गाउँपालिकाले तोकिएको मापदण्डभित्र रहेर किसान वा फर्मलाई कृषि र पशुपालनमा अनुदान दिन लागेको हो। युवा किसानलाई प्रोत्साहित गर्न पशुपालन, मौरीपालन, सुन्तला खेती र युवा किसानका लागि आवेदन माग गरेर सकारात्मक कार्यको थालनी गरेको छ। गाउँपालिकाले तीन वटा दुहुना गाई वा भैंसी पाल्ने किसानलाई १ लाख रुपियाँका दरले अनुदान दिने भएको छ। यस्तै, बाख्राको खोर निर्माणका लागि पनि अनुदान दिने निर्णय गरेको छ।

चितवनमा युवा उमेरका किसानले कृषि पेसामा लागेर नमुना काम गर्दै आएका छन्। मेहनत गरे स्वदेशमै सुन फलाउन सकिन्छ भन्ने उदाहरण पनि चितवनका थुप्रै युवा किसानले प्रमाणित गरिसकेका छन्। स्थानीय तहका यस्ता कार्यक्रमबाट युवामा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै हातमा पासपोर्ट बोकेर विदेश जान भौंतारिइरहेका युवा पुस्तालाई स्वदेशमै केही गर्न प्रोत्साहनसमेत मिलेको छ।

नेपालमा मेहनत गर्ने हो भने कृषि पेसाबाटै मनग्य आम्दानी गर्न सकिन्छ। स्वदेशमै पशुपालन, मौरीपालन, माछापालन, व्यावसायिक तरकारी खेती, सुन्तला खेती जस्ता थुप्रै आयमूलक काम गरेर प्रगति गरेका किसानका सफलताका कथाहरू सार्वजनिक भइरहेका छन्। सरकारले किसानलाई विभिन्न कार्यक्रममार्फत प्रोत्साहन गर्ने, सीप विकास तालिम प्रदान गर्ने, मल, बीउबिजन र उत्पादित वस्तुको बजारीकरण, बीमालगायतका व्यवस्था गरिदिने हो भने कोही पनि नेपाली युवा खाडीमुलुकमा भौंतारिनु पर्दैन। उसो त सरकारले १० वर्षभित्र मुलुकलाई धान, चामल, तरकारी र माछामासुमा आत्मनिर्भर बनाउने उद्देश्यले कृषकलाई अनुदानको व्यवस्था गरिसकेकोे छ। जसअन्तर्गत ७७ जिल्लाका कृषि विकास कार्यालयमार्फत किसानलाई साना सिँचाइ योजना, पकेट ब्लक, चैते धान कार्यक्रम, बर्खे धानका लागि विभिन्न जातका धानका बीउमा अनुदान जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ।

यस्तै, प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पनि अनुदानका कार्यक्रम सञ्चालन गर्ने कार्यविधि बनाइसकेको छ। व्यवसाय उन्मुख किसान र व्यावसायिक किसानलाई कृषिमा प्रोत्साहित गर्ने खालका कार्यक्रम प्रदेश सरकारहरूले पनि ल्याइरहेका छन्। यसले किसानलाई केही हदसम्म प्रोत्साहन हुने विश्वास गरिएको छ।

किसानलाई प्रत्यक्षरूपमा प्रोत्साहन गर्ने स्थानीय तहले नै हो। अहिलेसम्म पनि किसानका अधिकांश उत्पादन जीविकोपार्जनका माध्यममात्रै बन्न पुगेका छन्। परम्परागत कृषि प्रणालीमा आधारित पशुपालन र कृषि पेसा अपनाउने किसानले आफ्नो मेहनत पनि नओत्ने गुनासो गर्दै आएका हुन्छन्। किसानलाई आधुनिक कृषि प्रणाली र अनुदानका कार्यक्रमहरूमार्फत आकर्षित गर्न सके कुनै पनि किसानले आफ्नो श्रमको प्रतिफल पाउन सक्छन्। कृषिमा आकर्षक अनुदान र पशु बीमा जस्ता कार्यक्रमको निरन्तरताबाटै कृषिमा प्रतिफलका साथै निर्यात प्रवद्र्धनमा पनि सहयोग पुग्ने देखिन्छ।
– कविता पौडेल, चितवन

प्रतिक्रिया दिनुहोस्