पालुङटारको विद्यालयमा जापानी सहयोग



गोरखा, (नेस)
जापानी विद्यार्थीको संस्था किभो जापानले गोरखाको पालुङटार नगरपालिकाका विभिन्न विद्यालयलाई सहयोग गरेको छ।
पालुङटार नगरपालिका–६ कमलटार स्थायी घर भई काठमाडौं बस्दै आएका सुशीलबाबु पन्त संस्थापक संयोजक रहेको सो संस्थाले रजगरे मावि, बालकल्याण मावि खत्रीटार, लक्ष्मी मावि गाईखुर, जीवनज्योति मावि च्याङ्ली, त्रिवेणी मावि सेरा, मदने डाँडा मावि ढुंगेटारी, मिरकोट मावि बागडाँडा, धर्मोदय मावि दरौंदीडाँडाका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरी सहयोग गरेको हो।

सो संस्थाले सन् २००९ देखि नै यी विद्यालयमा सहयोग गरिरहेको संस्थापक संयोजक पन्तले जानकारी दिए। सन २०१९ सालदेखि मिरकोट मावि र धर्मोदय माविलाई पनि सहयोग गर्ने कार्यक्रम बनाएको उनले बताए। संस्थाले भूकम्पले ध्वस्त भएको रजगरे माविको चारकोठे भवन निर्माण गरेको थियो।

त्यस्तै संस्थाले यी सबै विद्यालयका पुस्तकालयमा गरी ५ हजार थान पुस्तक सहयोग गरेको जनाएको छ। त्यस्तै सबै विद्यालयमा गरी २ हजार विद्यार्थीलाई पुग्ने फर्निचर सामग्री सहयोग गरेको पन्तले बताए।

सेराको त्रिवेणी मावि कक्षा कोठामा प्रयोग गर्ने गरी १२ थान सिलिङ फ्यान, माइक्रोस्कोपलगायतका विज्ञान सामग्री पनि वितरण गरेको छ।
अन्य बालकल्याण माविका लागि ८० हजार रुपियाँबराबरको माइस्क्रोपलगायतका विज्ञान सामग्री र त्रिवेणी माविमा ५० हजारबराबरको विज्ञान सामग्री प्रदान गरेको छ। मदनेडाँडा माविमा पनि माइस्क्रोपलगायतका शैक्षिक सामग्री वितरण गरेको संयोजक पन्तले जानकारी दिए। संस्थाले विद्यार्थीलाई सशक्तीकरण सचेतनामूलक कार्यक्रम पनि गर्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस्