हिउँको थुम्को बन्यो कालिञ्चोक



चिरञ्जीवी मास्के, दोलखा
झन्डै चार हजारको उचाइमा छ प्रसिद्ध कालिञ्चोक भगवती मन्दिर। पुसदेखि चैतसम्मै हिमपातको सम्भावना रहने कालिञ्चोकमा यो वर्ष विगतको भन्दा बढी नै हिमपात भइरहेको छ।

चारैतिर हिमाल देखिने उच्च भेगमा रहेको कालिञ्चोक हिमपातको यो मौसममा हिमशृंखलाकै एउटा भाग जस्तै लाग्छ। आवास र यातायातको सहज पहुँच तथा केबलकार समेत सञ्चालनमा आएपछि यो वर्ष कालिञ्चोकमा अत्यधिक पर्यटक पुगिरहेका छन्। पुसयता हिउँसँग रमाउनकै लागि झन्डै ५० हजार पर्यटक कालिञ्चोक पुगेको कालिञ्चोक कुरीका होटल व्यवसायी सोनाम शेर्पा बताउँछन्।

कालिञ्चोकको थुम्का, कुरी र आसपास अहिले पनि एक÷दुई फिट हिउँ रहेको र पर्यटक दैनिक जसोनै हिउँमा खेलेर रमाइलो गरिरहेकोे होटल व्यवसायी शेर्पा बताउँछन्। यो वर्ष पुसदेखि नै हिमपात भएकाले पर्यटक धेरै आउन सके शेर्पाले भने– ‘अझै चैतसम्म हिमपातको सम्भावना रहेकाले पर्यटकको संख्या विगतको भन्दा अत्यधिक नै हुन्छ।’

काठमाडौंबाट १ सय ३३ किलोमिटरको यात्रा तय गरेर चरिकोट पुगेपछि १७ किलोमिटर कच्ची सडकबाट कालिञ्चोक पुग्न सकिन्छ। कालिञ्चोकको कुरीमा ४० वटा होटल रहेकाले बस्न समस्या नहुने होटल व्यवसायी शेर्पाको भनाइ छ। तर अत्यधिक हिमपात भएकाले सवारीसाधन कुरीसम्म पुग्न नसक्दा अहिले पर्यटक एक÷दुई घन्टा हिँड्नुपर्ने अवस्था रहेको छ।

हिमपातको यो मौसममा कालिञ्चोकको कुरी आसपास साहसिक खेल स्की र स्नोबोर्डसमेत सञ्चालन भइरहेको छ। स्की तथा स्नोबोर्ड प्रतिष्ठान र जात्रा एड्भेन्चरले विगत एक महिनादेखि स्की र स्नोबोर्ड सञ्चालन गरिरहेको जात्रा एड्भेन्चरका प्रबन्धक अनिल उप्रेतीले बताए। झन्डै एक महिनाको अवधिमा १ सय जनाले स्की तथा स्नोबोर्डसम्बन्धी प्रशिक्षण लिएको उप्रेतीले बताए। प्रशिक्षणमा कालिञ्चोकका स्थानीयको सहभागिता अत्यधिक रहेको पनि उप्रेतीले बताए।

कालिञ्चोक मन्दिर परिसरको जलकुण्ड नै यहाँको मुख्य विशेषता हो। किम्बदन्तीअनुसार जलकुण्डबाट दाहिनेतिर तामाको धारा भएर तामाकोसी बगेको र देब्रेतिर सुनको धारा भएर सुनकोसी बगेको छ। कालिञ्चोक मन्दिर परिसरमा हिमालय पर्वतकी पुत्री पार्वतीले तपस्या गरेको र महादेव पार्वतीको बासस्थान भएको जनविश्वास रहँदैआएको छ। कालिञ्चोक क्षेत्रमा भेंडागोठ रहेको र कालिञ्चोक मन्दिरमा सबै भेंडा जम्मा भएर बस्ने तथा ढुंगा चाट्ने गरेर जलकुण्ड देखिएको किम्बदन्तीसमेत प्रचलनमा रहेको छ। कालिञ्चोकको दर्शन ग¥यो भने मागेको कुरा पूरा हुने, रोगव्याध नलाग्ने, शत्रुको भय नहुने, धन सम्पत्तिमा वृद्धि हुने जनविश्वाससमेत रहँदै आएको छ। कालिञ्चोक मन्दिरमा दशंै, जनै पूर्णिमाजस्ता पर्वमा मेलासमेत लाग्ने गरेको छ।

विगतमा कालिञ्चोकमा धार्मिक पर्यटकमात्र पुग्ने गरेकामा यातायात तथा आवास सहजता र केबलकारको स्थापना पछि हिउँ खेल्ने पर्यटक र प्रकृतिसँग रमाउने पर्यटक अत्यधिक पुग्ने गरेको कुरीका अर्का होटल व्यवसायी हरि ओली बताउँछन्।

प्रतिक्रिया दिनुहोस्