विश्वकप आयोजक प्रस्तावमा चिली सामेल



लन्डन, (एजेन्सी)
आगामी सन् २०३० को फिफा विश्वकपको आयोजना गर्ने प्रस्तावमा चिली पनि संलग्न भएको छ। अर्जेन्टिना, पाराग्वे र उरुग्वेले संयुक्तरूपमा सो विश्वकप आयोजना गर्ने दाबी गरेका छन्। यी राष्ट्रसँगै चिली पनि आयोजक बन्ने होडमा सामेल भएको हो।

२०३० मा उरुग्वेले विश्वकप आयोजना गरेको ठ्याक्कै १ सय वर्ष हुनेछ। सन् १९३० मा पहिलो विश्वकप उरुग्वेमा आयोजना भएको थियो। जसमा उरुग्वेले अर्जेन्टिनालाई हराएर उपाधि पनि जितेको थियो।

३२ टोलीले सहभागिता जनाइरहेकोमा विश्वकप २०२६ देखि ४८ टोलीले सहभागिता जनाउनेछन्। २०१७ मा अर्जेन्टिना, उरुग्वे र पाराग्वेले संयुक्तरूपमा आयोजक बन्ने योजना बनाएका थिए। तर, चिलीका राष्ट्रपतिले बिहीबार आफ्नो राष्ट्रपनि सामेल भएको घोषणा गरेका थिए। राष्ट्रपति सेबास्टियन पिनेराले ट्विटरमा उल्लेख गरेका थिए– ‘केही महिनाअघि मैले अर्जेन्टिना, उरुग्वे र पाराग्वेका राष्ट्रपतिसमक्ष चिलीलाई पनि सामेल गर्न प्रस्ताव राखेको थिएँ। तीनै राष्ट्रले यो प्रस्तावलाई स्वीकार गरेका थिए।’

चिलीले विश्वकप सन् १९६२ मा आयोजना गरेको थियोे। सो विश्वकपमा ब्राजिल विजेता बनेको थियो। त्यस्तै अर्जेन्टिनाले सो विश्वकप १९७८ मा आयोजना गर्दा विजेतासमेत बनेको थियो। दक्षिण अमेरिकामा पछिल्लोपटक सन् २०१४ मा ब्राजिलमा विश्वकप आयोजना भएकोे थियो। २०३० विश्वकपको आयोजक बन्न स्पेन र पोेर्चुगलले पनि संयुक्तरूपमा आयोजना गर्न इच्छुक भएका छन्।

 

प्रतिक्रिया दिनुहोस्