हिउँले जगाएको आलुको आशा असिनाले निमोठ्यो



नेपाल समाचारपत्र, पर्वत
पर्वतको जलजला गाउँपालिकाको उपल्लो भू–भागमा हुरीबताससँगै परेको असिना पानीले आलु खेतीमा क्षति पु¥याएको छ। शुक्रबार साँझ परेको असिना पानीले जलजला गाउँपालिकाको बनौ, नाग्लिवाङ, धाइरिङ, शालिजा, लेखफाँट लगायतका वडाको उपल्लो भेगमा आलु खेतीमा क्षति पुगेको हो।

माघ १३ गते पहिलोपटक परेको हिउँले आलु खेती फस्टाउने आशामा रहेका कृषक त्यसपछि लगातार हिउँ र पछिल्लोपटक असिनासमेत परेपछि समस्यामा परेका छन्। ‘पहिलोपटक हिउँ पर्दा आलु उत्पादन बढ््ने आशा थियो।’ बनौंका स्थानीय आलु उत्पादक कृषक भिम फकामीले भन्नुभयो–‘त्यसपछि माघको २४ गते परेको हिउँ र अहिलेको असिनाले आलुलाई ढपक्कै पुरेको छ।’ पर्वतको उच्च भू–भागमा आलुको व्यावसायिक खेती गरिँदै आएको छ। आलुको व्यावसायिक खेती गरेका कृषकलाई असिनाका कारण आलु कुहिने चिन्ताले पिरोलेको छ।

शुरूमा परेको हिउँले सिञ्चित हुन नपाएको खेतीका लागि राम्रै फाइदा गरे पनि त्यसपछिको हिउँ र असिनाले खेती नराम्रोसँग प्रभावित हुने कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मी बताउनुहुन्छ। हिमपातकै कारण चिसोले आलुका बिरुवा ओइलिएका र असिनाले झनै समस्या बनाएको बनौका अर्का कृषक चक्रबहादुर पुनले बताउनुभयो। उहँँका अनुसार शुक्रबार साँझ एक घण्टा लगातार ४ इन्चसम्म असिना परेको हो।

प्रतिक्रिया दिनुहोस्