सार्वजनिक खर्च पुनरावलोकन आयोगले सरकारलाई प्रतिवेदन बुझायो 



काठमाडौं, (नेस)
अर्थमन्त्री डा। युवराज खतिवडालाई सार्वजनिक खर्च पुनरावलोकन आयोगले आफ्नो प्रतिवेदन बुझाएको छ।
विद्यमान बजेट प्रणालीलाई सुधार एवम् परिमार्जन गरी संघीय संरचना अनुरूप बनाउन अपनाउनुपर्ने कामका बारे आवश्यक सुझाव दिन गठित समितिले अर्थमन्त्री डा। युवराज खतिवडालाई प्रतिवेदन बुझाएको हो।

अर्थबिद् डा। डिल्लीराज खनालको अध्यक्षतामा गठित सार्वजनिक खर्च पुनरावलोकन आयोगको प्रतिवेदन बुझदै मन्त्री खतिवडाले आयोगले सुल्झाएका विषयलाई सरकारले क्रमशः कार्यान्वयन गर्दै अघि बढ्ने बताउनुभयो। मुलुकका तीनै तहका सरकारको खर्च प्रणालीको व्यवस्थापन गरी वित्तीय अनुशासन कायम गर्ने लगायतका विभिन्न पक्षका बारे प्रतिवेदनमा सुझाव दिइएको आयोगका अध्यक्ष डा। खनालले बताउनुभयो।

कार्यक्रममा अर्थसचिव डा। राजन खनालले विद्यमान खर्च प्रणालीमा देखिएका समस्याहरूलाई समाधान गर्दै जाने सन्दर्भमा यो प्रतिवेदन सम्रग सुधारको एउटा अंग रहेको बताउनुभयो। आयोगका अध्यक्ष खनालले अध्ययनको अवसर प्रदान गराएकोमा सरकार तथा अर्थमन्त्रीप्रति आभार व्यक्त गर्नुभयो। त्यस्तै अर्थमन्त्री खतिवडाले आयोगमा खटिएका समग्र टोलीलाई धन्यवाद दिनुभयो। वित्त क्षेत्रमा देखिएका समस्यालाई समाधान गरी मुलुकको विकास र समृद्धिको पक्षमा टेवा पुगोस भन्ने उद्देश्यले सरकारले गत भदौ ३ गते सार्वजनिक खर्च पुनरावलोकन आयोग गठन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्