मंगलग्रहमा ज्वालामुखी गतिविधि रहेको अनुमान



वासिङ्टन, (एजेन्सी)
मंगलग्रहमा पानीको अस्तित्वका बारेमा वैज्ञानिकहरूको नयाँ खोज बाहिर आएको छ। यस खोजमा सम्भवतः मंगल ग्रहको सतहमुनि ज्वालामुखी गतिविधि भएको हुन सक्ने अनुमान गर्दै वैज्ञानिकहरूले जमिन सतह तल तापको स्रोतबिना पानीको उपस्थिति सम्भव नहुने बताएका छन्। यसअघिको अनुसन्धानमा मंगलको बरफले ढाकेको दक्षिण ध्रुवको तल पानी भएको सुझाव दिएका थिए। हिउँले ढाकेको धु्रवीय क्षेत्रमुनि तरल अवस्थामा पानीको उपस्थितिका लागि त्यसको तल तापको स्रोत हुनु आवश्यक भएको जियोफिजिकल रिसर्च लेटर्स नामक पत्रिकामा उल्लेख गरिएको छ।

उक्त रातो ग्रहको सतहमुनि निश्चितरूपमा म्याग्माको गतिविधि हुनुपर्ने र त्यसले तल रहेको डेढ किलोमिटर बाक्लो बरफको पत्रलाई पगाली पानीमा परिणत गर्न सक्ने ऊर्जा उत्सर्जन गरेको हुनुपर्ने वैज्ञानिकले बताएका छन्। त्यस क्षेत्रमा लाखौं वर्षमा म्याग्माको चेम्बर निर्माण भएको हुनुपर्छ। उक्त टोलीले यदि सतह तल कुनै म्याग्माको गतिविधि नभएको हो भने ध्रुवीय सतह तल पानीको उपस्थिति सम्भव नभएको पनि बताए।

मंगल ग्रहको धु्रवमा बरफको दुई विशाल पत्र छन् र दुवै केही किलोमिटर बाक्लो छ। पृथ्वीमा बरफको पत्र तल पानी हुनु सामान्य हो। गत वर्ष एक अखबारमा प्रकाशित लेखमा वैज्ञानिकले राडार अवलोकनबाट प्राप्त सूचनाका आधारमा मंगलग्रहको दक्षिणी ध्रुवमा हिउँको पत्रमुनि पानी रहेको प्रमाण फेला पारेको दाबी गरेका थिए। उक्त शोधमा तरल अवस्थामा पानी कहाँबाट आएको हो भन्ने खुलाइएको थिएन।

 

प्रतिक्रिया दिनुहोस्