राष्ट्रपति ट्रम्प अन्ततः संकटकालको पक्षमा



वासिङ्टन, (एजेन्सी)
संयुक्त राज्य अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छिमेकी मुलुक मेक्सिकोको सीमानामा पर्खाल निर्माणका लागि आवश्यक पैसा जुटाउन राष्ट्रिय संकटकाल घोषणा गर्ने भएका छन्। यसको आधिकारिक जानकारी ≈वाइट हाउसस्थित अमेरिकी राष्ट्रपति कार्यालयले दिएको हो।

ट्रम्पले सरकारी कामकाजमा कुनै रोकावटको अवस्था आउन नदिनका लागि सीमाना सुरक्षा विधेयकमा हस्ताक्षर गर्ने भएका छन्। जारी गरिएको एक सरकारी वक्तव्यका अनुसार ट्रम्पले अमेरिकी संसद् ‘कंग्रेस’ लाई बाइपास गरेर सीधै सैन्य कोषलाई पर्खाल बनाउन प्रयोग गर्ने भएका छन्।

डेमोक्रेट पार्टीका वरिष्ठ नेताहरूले भने ट्रम्पले संकटकाल घोषणाको तयारीलाई ‘शक्तिको निर्लज्ज दुरुपयोग’ र ‘स्वेच्छाचारी कदम’को संज्ञा दिँदै विरोध गरेका छन्। डेमोक्रेटहरूको बहुमत रहेको अमेरिकाको संसद्को तल्लो सदनले बिहीबार पारित गरेको एक विधेयकमा ट्रम्पले पर्खाल निर्माणका लागि माग गरेको रकम छुट्याइएको छैन। उक्त विधयक कानुन बन्नका लागि राष्ट्रपति ट्रम्पले हस्ताक्षर गर्नु बाँकी नै छ। रिपब्लिकनले समेत ट्रम्पको विरोध गरेका छन्।
मेक्सिकोसँग जोडिएको सिमा क्षेत्रमा पर्खाल बनाउने ट्रम्पको प्रमुख चुनावी प्रतिबद्धता रहेको थियो। तर, राष्ट्रपतिका रूपमा उनले हालसम्म उक्त योजनालाई अघि बढाउनका लागि बजेट प्राप्त गर्न सकेका छैनन्। ट्रम्पले आप्रबासीको प्रवाहलाई रोक्नका लागि अमेरिकाको दक्षिणी सीमानामा एक भौतिक अवरोध आवश्यकतामाथि जोड दिँदै आएका छन्।

राजनीतिक विज्ञहरूका अनुसार राष्ट्रिय संकटकाल घोषणा भएको अवस्थामा अमेरिकाका राष्ट्रपतिले केही विशेषाधिकार पाउँछन्। फलस्वरूप उनले सजिलैसँग कुनै पनि राजनीतिक प्रक्रियालाई बाइपास गर्न सक्छन्।

प्रतिक्रिया दिनुहोस्