चीनतर्फको माउन्ट एभरेस्ट बेस क्याम्प बन्द



बेइजिङ, (एजेन्सी)
चीनले माउन्ट एभरेस्टको आफूतर्फको आधार शिविर बन्द गरेको छ। चीनले पवर्तारोहण अनुमति नरहेका पर्यटकलाई त्यहाँ आउनबाट रोक्ने भएको छ। यस आकस्मिक कदमको उद्देश्य सो क्षेत्रमा लामो समयदेखि थुप्रिरहेको फोहर मैलाको व्यवस्थापन गर्नु रहेको सरकारले शुक्रबार आधिकारिक जानकारी दिएको छ।

यस प्रतिबन्धका कारण अब पर्यटक ५ हजार २ सय मिटर उचाइमा रहेको सो आधार शिविरभन्दा अलिकति मात्र तल रहेको एउटा गुम्बासम्म मात्र जान सक्ने बताइएको छ।

अधिकांश मानिसले नेपालतर्फको दक्षिणी मोहडाबाट मात्र माउन्ट एभरेस्ट चढ्ने गरेका छन्। तर, केही वर्षयता चीनतर्फबाट पनि यो सर्वोच्च शिखर चढ्नेको संख्यामा उल्लेख्य वृद्धि भएको छ। तिब्बतमा रहेको उक्त चिनियाँ आधार शिविर कारबाट पनि पुग्न सक्ने भएकाले निकै लोकप्रिय छ। नेपाली शिविरमा झण्डै दुई साता लगाएर हिँडेर मात्र पुग्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्