गोर्खा सैनिकको मुद्दामा भट्टराई रिचार्डबीच छलफल



नेपाल समाचारपत्र, काठमाडौं
नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसले नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का स्थायी कमिटी सदस्य तथा सांसद योगेश भट्टराईसँग भेट गर्नुभएको छ। राजदूत मोरिसले बेलायती सेनाबाट अवकाशप्राप्त भूूतपूर्व गोर्खा सैनिकहरूले उठाउँदै आएको माग र समस्याको छलफलका लागि भट्टराईसँग भेट गर्नुभएको हो।

राजदूत मोरिसले भट्टराईसँग शुक्रबार भेटेर भूतपूर्व गोर्खा सैनिकहरूको माग र पछिल्लो अवस्थाको बारेमा भट्टराईसँग कुराकानी गर्नुभएको छ। सांसद भट्टराईले नेपाल र बेलायत सरकारबीच ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै नेपाल र बेलायतबीचको सम्बन्धको एउटा कडी गोर्खाहरूको समस्या र मागका विषयमा राजदूतको ध्यानाकर्षण गराउनुभयो ।

सन् १८१६ को सुगौली सन्धिपछि अहिलेसम्म नेपाली युवा बेलायती सैनिकमा भर्ना भएर काम गरिरहेको, तर उनीहरूमाथि विभेद रहेको उल्लेख गर्दै सांसद भट्टराईले समस्या सम्बोधनका निम्ति पहल गर्न ध्यानाकर्षण गराउनुभयो। सांसद भट्टराईले नेपाली युवाले बेलायती सेनामा भर्ना भएर दिएको योगदान र बलिदानको सम्झना गराउँदै उनीहरूमाथिको विभेद अन्त्यमा जोड दिनुभयो।

गोर्खाहरूलाई नेपालमै बेलायतसरहको स्तरीय स्वास्थ्य सुविधा, कटौतीमा परेका गोरखाहरूलाई पेन्सनको व्यवस्था, युद्धपीडितलाई क्षतिपूर्ति र सम्मान, अमेरिकाको हवाईकाण्डका पीडितलाई क्षतिपूर्ति, गोरखा कल्याणकारी कोषको पैसा गोर्खाहरूको हितमा प्रयोगलगायतका बिषयमा राजदूतसँग कुराकानी गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्