स्वस्थ जीवनका लागि पोषण शिक्षा



पुस्तक चर्चा
रोहिणी घिमिरे
खाना एउटा यस्तो माध्यम हो, जुन सन्तुलितरूपमा खाँदा स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ भने असन्तुलितरूपमा खाँदा त्यसले स्वास्थ्यमा प्रतिकूल असर पार्छ। खानाको असन्तुलित उपभोगले स्वास्थ्य समस्या सृजना भई अस्पताल जानेको संख्या बढ्दो छ। यसको न्यूनीकरण एवम् निराकरणका लागि प्रभावकारी माध्यम भनेको सन्तुलित खाना नै हो। आफ्नो उमेर, स्वास्थ्यस्थिति, मौसमअनुसार सन्तुलितरूपमा भोजनको व्यवस्था गर्न सके स्वस्थ जीवनयापन गर्न सकिन्छ। यसै विषयलाई हृदयङ्गम गरी पद्मकन्या बहुमुखी क्याम्पस, गृहविज्ञान विभागकी डा। जया प्रधानले ‘जीवनशैली र पोषण’ नामको पुस्तक जनसमक्ष ल्याउनुभएको छ।

आधुनिक जीवनशैलीले गर्दा हाम्रो शारीरिक क्रियाकलापमा कमी हुँदै गएको छ। साथै शारीरिक क्रियाकलाप र हामीले खाने खानाबीच सन्तुलन हुन नसक्दा स्वास्थ्य समस्या बढिरहेको छ। यसले गर्दा मधुमेह, उच्च रक्तचाप, अनावश्यक मात्रामा तौल वृद्धि, मुटुसम्बन्धी रोगले प्रश्रय पाउँदै गएको छ। पोषणसम्बन्धी शिक्षाको कमीले नै यस्ता समस्या सृजना हुने भएकाले यसको न्यूनीकरणका लागि यो पुस्तक उपयोगी हुने देखिन्छ।

पोषणविज्ञ डा। प्रधानद्वारा लिखित चार खण्डमा विभाजित यस पुस्तकमा स्वस्थकर जीवनयापनका लागि सन्तुलित एवम् व्यवस्थित पोषणयुक्त खानेकुरा अपरिहार्य भएको कुरामा जोड दिइएको छ। असन्तुलित भोजनबाट सृजित स्वास्थ्य समस्या नियन्त्रण एवम् निराकरणका लागि पोषण शिक्षाको अपरिहार्यतालाई मनन गरी पुस्तक तयार गरिएको लेखिका डा। प्रधानको भनाइ छ। पुस्तकको सबै खण्डमा गरी जम्मा ५८ वटा शीर्षक छन् भने यी शीर्षकका पनि धेरै उप–शीर्षक छन्। प्रथम खण्डमा सन्तुलित भोजन, भोजनको योजना, खाद्यपदार्थको छनोट र संरक्षण, खाद्य मिसावट र स्वास्थ्यमा पर्ने असर, तयारी खाद्यपदार्थ र यसका प्रभाव आदि विषयमा जानकारी दिइएको छ। यस्तै दोस्रो खण्डमा विभिन्न खाद्यपदार्थहरू जस्तै– अन्न, मासु, अण्डा, साग, तरकारी, फलफूल आदिको पौष्टिक महत्वबारे प्रकाश पार्नुका साथै भोजनमा फाइबर तथा ड्राई फ्रुट्सको महत्व अनि नूनको आवश्यकताबारे समेत दर्शाइएको छ।

यस्तै शिशुदेखि वृद्धावस्थासम्म आवश्यक पर्ने पौष्टिक तत्वबारे पुस्तकको तेस्रो खण्डमा बताइएको छ। महिलाहरूको विशेष अवस्थामा के–कस्ता पौष्टिक तत्वको आवश्यकता हुन्छ भन्ने कुरा पनि यस खण्डमा उल्लेख गरिएको छ। त्यस्तै चोथो खण्डमा आधुनिक जीवनशैली, अस्वस्थकर खाना खाने प्रवृत्ति, निष्क्रिय शारीरिक अवस्था आदिका कारणबाट हुने पोषणसम्बन्धी स्वास्थ्य समस्याबारे प्रकाश पार्नुका साथै यी समस्यालाई भोजनबाट कसरी नियन्त्रण एवम् व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरा समेटिएको छ।

खाना बाँच्नका लागि मात्र नभई समुचित वृद्धि विकास र स्वस्थकर एवम् सक्रिय जीवनको आधारभूत आवश्यकता पनि हो भन्ने पाठ यस पुस्तकले सिकाएको छ। पोषणसम्बन्धी पाठ्यसामग्रीको अभावलाई यस पुस्तकले धेरै हदसम्म पूरा गर्नेछ। गृह–विज्ञानमा न्युट्रिसन विषय लिई उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीका साथै चिकित्साशास्त्रका विद्यार्थीलाई पनि सन्दर्भ पुस्तकका रूपमा यो पुस्तक उपयोगी हुनेछ। साथै न्युट्रिसन विषयका शिक्षक, प्रशिक्षक, अनुसन्धानकर्ता, गृहिणीहरू पनि अहिलेको जल्दोबल्दो पोषणसमस्या र समाधान समेटिएको यो पुस्तकको अध्ययनबाट लाभान्वित हुनेछन्। आफ्नो स्वास्थ्यस्थिति अनुकूल खाद्यपदार्थको छनोट गर्न, नियन्त्रण गर्न, पोषणस्थिति सन्तुलन राख्न र स्वस्थकर जीवनयापन गर्न जोसुकै पाठकलाई यस पुस्तकले अभिप्रेरित गर्नेछ। ३०२ पृष्ठको यो पुस्तकको अध्ययनबाट जीवनशैली र पोषणबारे पर्याप्त जानकारी हासिल गरी निरोगी रहन मद्दत पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्