आज रमिता छ उपन्यासका सर्जक राई



केशव अधिकारी
साहित्यका विविध विधामध्ये पद्य विधामा भन्दा गद्य विधामा सर्जक अधिक प्रस्टरूपमा देखा पर्दछ। हुन त पद्य विधामा पनि देखा नपर्ने भनेको होइन, तर गद्य विधामा जति अभिधात्मकरूपले प्रकटिन्छ पद्य विधामा त्यति प्रकटिन सकेको हुँदैन। त्यसकारण वरिष्ठ साहित्यकारको कसी भनेकै साहित्यको गद्य विधा हो। गद्य विधाको कथामा थोरै पात्र र पाठकको एक बसाइको काउकुती शान्त पार्न खोजिएको हुन्छ भने गद्य विधाकै उपन्यासको आदिदेखि अन्त्यसम्मै पाठकको मनमा अब के हुन्छ होलाको काउकुती जगाउन सक्नु गद्य विधाका वरिष्ठ साहित्यकारको लक्षण त नभनौँ एक क्षमता मान्नुपर्छ। उपन्यासको सबै कुरा पात्रले मात्र बकेको वा प्रकट गरेको हुँदैन, त्यसलाई बाङ्गो वा घुमाउरोरूपमा बुझेर पढ्ने पाठकले मात्र त्यसको मीठासपन लुट्न र सन्तुष्ट बन्न सक्छ। कथामा एउटा सानो झ्यालको सामथ्र्यभित्रको कुरा अटेको हुन्छ भने उपन्यासभित्र त साङ्गोपाङ्गो जीवन अटेको हुनुपर्छ भन्ने मान्यता रहेको हुन्छ।
आज रमिता छ उपन्यासका सर्जक इन्द्रबहादुर राई हुन्। उनको जन्म सन् १९३० मा भएको थियो। इन्द्रबहादुर राई तेस्रो आयामका अग्रणी साहित्यकार पनि हुन्। तेस्रो आयाम भन्नाले अबका सिर्जनाहरू आयामिक हुनुपर्छ भन्ने मान्यता रहन्छ। कुनै मान्छेको जीवनको उतारचढाव आदिको बारेमा लेखिने सिर्जना सबैतिरबाट सिङ्गो वा पूरा रूपको हुनुपर्छ भन्ने आयामिक साहित्यकारहरूको ठम्याइ रहने गर्दछ। तेस्रो आयामका अन्य साहित्यकारहरूमा तिलविक्रम नेम्वाङ आदि हुन्।

उनै आयामेली साहित्यकार इन्द्रबहादुर राईको उपन्यासको शीर्षक ‘आज रमिता छ’ पढ्दा पाठकलाई मनभित्र निकै उत्सुकता जगाउँछ भने पढ्दै जाँदा कतै पनि रमिताचाहिँ भएको पाइँदैन। बरु रमिताको स्थानमा भरमार विसङ्गतिहरू पाइने गर्दछन्। यस उपन्यासका पात्रहरू जनक, सीता, शमशेर, बाबुनी, एम के आदि रहेका छन्। पौराणिक पात्र जनकको अर्थ बुबा भन्ने देखिन्छ तर यस उपन्यासमा जनकले आफ्नै छोरी सीतासँग विवाह गर्न पुगेका छन्। जनकको आफ्नै गाडी पनि छ अनि पसल पनि छ। पसलमा शमशेर काम गर्छन्। पसलबाट फाइदा भएको छैन। पहाडबाट आउने नचिनेका कैयौँ मान्छेले सामान उधारोमा लैजान्छन् र नाकमुख नै देखाउँदैनन्। काम नगर्दा पनि मान्छेले कुरा काट्ने र काम गर्दा पनि घाटा हुनेजस्ता विसङ्गतिहरूले यो उपन्यास भरिएको छ। यस उन्यासको एम के पात्रकी स्कुल पढ्दै गरेकी छोरी छन् तर छोरीलाई किताब–कापी किनिदिनुको साटो किताब–कपी किन्ने पैसा नै रक्सी खाएर सक्न भ्याउँछ। यस्तै विसङ्गतिमै कुनै पनि समाज चलेको हुन्छ र चलि नै रहन्छ। उपन्यासको एउटा पात्रको मृत्यु हुँदैमा, एउटा बच्चा वा धेरै बच्चा अनाथ बन्दैमा केही फरक पर्दैन। पृथ्वी आफ्नै गतिमा घुम्दै छ भने अन्य ग्रह–उपग्रहहरू पनि आ–आफ्नै गतिमा चल्दै छन् र अनन्त कालसम्म चलिरहन्छन्।
आज रमिता छ उपन्यासका सर्जक इन्द्रबहादुर राई स्वयम् भन्छन्, ‘उपन्यास लेख्नलाई कागज र कलम त अनिवार्य चाहियो नै, अर्को चाहिने कुरा हो जीवनको ज्ञान। अथवा तीन पावा अनुभव वा यथार्थमा एक पावाचाहिँ कल्पना पनि हो।’ यो भनाइले के देखाउँछ भने, यस उपन्यासका सबै पात्रहरू यथार्थ पात्र होइनन् र केहीचाहिँ काल्पनिक पात्र पनि हुन्। उनका अनुसार उमेर अनुभवले हामीलाई जीवनसँग चिनाउँदै लगेपछि जीवन र जगत्प्रति हाम्रो दृष्टि बन्छ। त्यही दृष्टिको आडमा उपन्यास लेख्न सकिन्छ रे ⁄ समान चरित्रहरूको एकै कथा पनि पाँच दृष्टिले लेखिए ती वास्तविक अर्थमा पाँच उपन्यास हुन्छन्। एकै दृष्टिले लेखिएका ती सयमा सय ठेलीहरू एउटै उपन्यासका विभेदहरू मात्र हुन्। उपन्यास लेख्ने दृष्टि सबको एक र समान हुँदैन, अनुभव र त्यसमाथिको चिन्तन जसलाई सचेतना भनिन्छ, द्वार हरेक लेखकले यो दृष्टि विस्तार विस्तार आफ्नो लागि आफैँ आविष्कार गर्नुपर्छ। चिन्तनविनाको साहित्यिक प्रयास रहर वा स्वाङमात्र हो, वा एउटा खेलाँची मात्र हो।

सर्जकका अनुसार नचाहिने वा अनावश्यक पात्र उपन्यासमा हुनुहुँदैन। तर यस उपन्यासमा पनि अनावश्यक पात्रहरू भने छन्। यसबारेमा उनको भनाइ यो छ– ‘मैले देखेको संसारमा चाहिने मान्छेहरू मात्र छैनन्। जीवनभरि सँगै बसेर पनि हामीलाई कसैले असर पारेन भने त्यो पनि कथा हो, नहुनुको रोचक कथा हो। साहित्यले जीवन र जगत्को अनुकरण गर्छ तर परिष्कृत अनुकरण। ठेलीहरूमा लेखिएको सिद्धान्त यही छ। त्यस ठेलीमय सिद्धान्तसँगको क्रोध छ यस उपन्यासमा। जीवन र जगत्को यथावत् अनुकरणमा कुनै मूढता वा अपरिष्कृतता हुनै सक्दैन। वास्तविकताभन्दा ठूलो साहित्य छैन। विश्वको श्रैष्ठतम कृतिमा तीन घन्टा डुब्नु र त्यसै ३ घन्टा बाँचेर बसिरहनुमा पछिल्लोमा कता हो कता धेरै साहित्य–साहित्य छ। अस्तित्वभन्दा ठूलो साहित्य छैन। पे्रमको उपन्यास हुन्छ, पे्रम नभएको कथा यस उपन्यासमा छ। भविष्य अज्ञात रहेजस्तै यसमा कथाका त्यान्द्राहरू त्यतिकै छन्।

उपन्यासका सर्जक राई आफ्ना पात्रका बारेमा खुलाउँछन्– ‘मलाई मेरा मुख्य पात्रहरू जनक, भूदेव, एम।के।, रवि आदिको आविष्कार गर्नमा धेरै महिना लाग्यो। जनक बनाउँदा मैले मेरा धेरै परिचितहरूका गुण–अवगुणको म।स।अ।, म।स।अ। निकालेर बनाएँ। एम।के। बनाउँदा तीनजना गाल्नुप¥यो। खगप्रसादलाई मैले ५४ सालको हिउँदोमा झापादेखि उताको दमक बजारमा चैनपुरे दमाईंकहाँ भेटेको थिएँ। ऊ त्यहाँ त्यही दिन धनकुटा फर्कन लाग्दा झोला सिलाउन आएको थियो, म बाटोमा सबै लुगाफाटा हराएर कमेज सिलाउन पुगेको थिएँ। दुबैलाई हतार थियो तर दमाईं नै थोते, उसको मिसिनै थोत्रो हुँदा अलिकति हतारसँग छिटो चलायो कि मिसिनको सियोले नसिलाई दगुथ्र्यो। दिनभरि पर्खेर हामीलाई बात गरिरहनै कर लागेको थियो।’ पात्रका बारेमा सर्जक भन्छन्– ‘आफ्ना पात्रहरूको विषयमा लेखकले लेखेको भन्दा बढ्ता कुरो जानेको हुनुपर्छ र मात्रै उसले थोरैमा पनि विश्वास पार्ने गरी भन्न सक्छ। अर्को कुरा, मन परेको व्यक्तिको मात्र कथा लेख्न सकिँदो रहेछ।’

आज रमिता छ उपन्यास शुरूमा पढ्दै जाँदा उल्टो बाटो हिँडेजस्तो लाग्छ। जब उपन्यासको अन्त्यतिर पुगिन्छ अनि मात्र उपन्यासको शीर्षकको रहस्य पर्दाफास भएको जस्तो लाग्छ। आरम्भदेखि झन्डै १७५ पेजसम्म फैलिएको यो उपन्यासका विभिन्न खण्डहरूमा विभिन्न पात्र–पात्राका मुखबाट जीवनको गहन रहस्यका बारेमा दर्शनका कुरा पनि बताउन लगाइएको हुनाले उपन्यासकार इन्द्रबहादुर राई पूर्ण दार्शनिक नभए पनि एक चौथाइसम्मका दार्शनिक नै रहेछन् भन्ने भावनासमेत मनमा आउँछ। भाषाको प्रयोगको हकमा हेर्ने हो भने कतै हिन्दी शब्दको प्रयोग त कतै नेपाली भाषाकै शब्दमा पनि राईको मातृ भाषाको प्रभाव परेको हुनाले पाठकका लागि भने यो उपन्यास छेउ न टुप्पोको समेत बन्न पुग्ला। इन्द्रबहादुर राई अलि बढी समय बाँचेका भए अरू पनि केही पाउन सकिन्थ्यो होला तर उनीभन्दा बलियोले तानेर जान बाध्य भएका उनलाई श्रद्धाका सुमनहरू अर्पण गर्नुको विकल्प छैन।

प्रतिक्रिया दिनुहोस्