बाली संरक्षणमा हेरालु



सर्लाही, (नेस)
जंगली जनावरले बाली नोक्सान पारेपछि हरिपुर–१ का किसानले मासिक तलब दिएर हेरालु राखेका छन्।
किसानले लगाएको मकै, उखु, गहुँ र तरकारी बाली नष्ट गर्न थालेपछि मासिक ८ हजार तलब दिएर हेरालु राखेको हरिपुर–१ खडकबहादुर थापाले गुनासो गर्नुभयो। नजिकैको जंगलबाट हुल्लका हुल आएका जंगली जनावरले बाली नष्ट गरेपछि उनीहरू स्थानीय निकायसँग सहयोगका लागि हारगुहार गरेका छन्।
बाली जोगाउन डिभिजन वन कार्यालय सर्लाही, हरिपुर नगरपालिका, बरहथवा नगरपालिका, हरिवन नगरपालिका र बागमती नगरपालिकासँग जंगली जनावरको छेकवार गर्न आर्थिक सहयोका लागि आग्रह गरिएको बिहानी सामुदायिक वनका अध्यक्ष दिनेशराज थापाले जानकारी दिनुभयो।

जंगली जनावरबाट पीडित भएका किसानले तारजाली लगाउन प्रतिकठ्ठा २ हजारका दरले पैसा उठाएर घेराबेरा गर्न शुरू गरेका छन्। नजिकै रहेको सामुदायिक वन र साझेदारी वनबाट आएका हरिण, मृग, नीलगाई, बँदेल, बाँदरलगायतका जंगली जनावरले बाली नोक्सान गरेपछि दिनमा भोक न रातमा निन्द्रा भएको किसानले गुनासो गरेका छन्।

जंगली जनावर रोक्न यस वर्ष करिब एक किलोमिटर क्षेत्रमा तारजाली लगाउने र त्यसलाई आगामी वर्ष थप विस्तार गर्दै लैजाने पीडित किसानको भनाइ छ। तारजाली गर्न केही रकम बिहानी सामुदायिक वनले उपलब्ध गराएको पीडित किसान चन्द्रबहादुर बस्नेतले बताउनुभयो। रात दिन जंगली जनावले आतंक मच्चाउन थालेपछि जग्गा जमिन बेचेर बसाइँ जाउँ जस्तो लागेको पीडित किसान कृष्णबहादुर श्रेष्ठले दुखेसो गर्नुभयो। जंगली जनावरले नम्बरी आवादीभित्र बाली नोक्सान पु¥याए स्थलगत मुचुल्कापछि क्षतिपूर्ति दिन सकिने डिभिजन वन कार्यालय सर्लाही वन अधिकृत माधवप्रसाद देवले जानकारी दिनुभयो।

पीडित किसानलाई राहतका उपलब्ध गराउन र जंगली जनाएको संरक्षण गर्नु आफू तयार रहेको हरिपुर नगरपालिका मेयर जमरुदिन मंसुरले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्