महाअभियोगबाट उम्कन राजीनामा



मनोज रेग्मी, काठमाडांैं
घूस लिएको प्रमाण सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले शुक्रबार पदबाट राजीनामा दिएका छन्। भक्तपुरको नेपाल इन्जिनियरिङ कलेजमा भएको भ्रष्टाचार लुकाउन कलेज सञ्चालकसँग ७८ लाख रुपियाँ घूस लिएको तथ्य सार्वजनिक भएपछि उनी विवादमा तानिएका थिए।

पाठकले घूस लिएको स्वीकारेको भिडियो सार्वजनिक भएपछि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उनलाई महाअभियोग लगाउने तयारी थालिसकेको थियो। यति नै बेला महाअभियोगबाट उम्कनका लागि उनले राजीनामा बुझाएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा कुनै हालतमा भ्रष्टाचार हुन नदिने प्रतिबद्धता व्यक्त गरिरहेका बेला भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सदस्य पाठक नै घूस काण्डमा संलग्न भएको खुलासा भएको हो।

एउटै शैक्षिक संस्थासँग जोडिएको भ्रष्टाचार मिलाउन घूस लिएर राजीनामा दिन बाध्य भएका पाठकसँग जोडिएको यो नै पहिलो विवादित घटना भने होइन। गत २०७१ सालमा आयुक्त बनेर टंगाल प्रवेश गरेदेखि नै पाठकले खुलेआम घूस लिने गरेको उनकै सहकर्मीले बताएका छन्। आयुक्त पाठकले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवाद मिलाइदिन सञ्चालक समितिका अध्यक्ष लम्बोदर न्यौपानेसँग ७८ लाख रुपियाँ घूस लिएका हुन्। २०७४ भदौमा समितिका अध्यक्ष न्यौपानेबाट दुई पटक गरी पाठकले सो रकम लिएको खुलासा भएको छ।

काम गरिदिने भन्दै रकम लिएको तर काम नगरिदिएपछि आयुक्तलाई दिएको घूस फिर्ता लिनका लागि भिडियो सार्वजनिक गर्नुपरेको बताइएको छ। तर, प्रधानमन्त्री र सरकारी निकायलाई भिडियो उपलब्ध गराएको धेरै दिन भइसक्दा पनि त्यसबारे कुनै सुनुवाइ नभएको स्रोतको दाबी छ। त्यति मात्र नभई उनले भिडियो फिर्ता गर्न पटक–पटक प्रहरीसमेत परिचालन गरेको खुल्न आएको छ।

भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक निकायका सदस्यले नै खुलेआम भ्रष्टाचार गर्ने र महाअभियोगबिना नै राजीनामा स्वीकृत गर्ने काम भ्रष्टाचारी उम्कने बाटो बनेको जानकारहरू बताउँछन्। ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष खेमराज रेग्मी भन्नुहुन्छ– ‘राजीनामा स्वीकृत गरिसकेपछि विवादित व्यक्तिको विषयमा सार्वजनिक उजुरी आ≈वान गर्न मिल्दैन। त्यसैले सरकारले भ्रष्टाचारीलाई कारबाही गर्ने हो भने राजीनामा स्वीकृत नगरी महाअभियोग अथवा अन्य कुनै कारबाहीका प्रक्रियाहरू चाल्नुपथ्र्यो।’

यसअघि लोकमानसिंह कार्की अख्तियार प्रमुख आयुक्त रहँदा उनले पद तथा शक्तिको दुरुपयोग गरी गैरकानुनी कमाइ गरेका थिए। शक्ति केन्द्रहरू, राजनीतिक दल सबैतिर मिलाएका उनीविरूद्ध दलहरूले महाअभियोग प्रक्रिया थालेका थिए। त्यही बेला सर्वोच्च अदालतले उनको नियुक्ति गैरकानुनी भन्दै बदर गरिदिएको थियो। पद र शक्तिको दुरुपयोग गरी आयोगको गति ध्वस्त पार्ने उनीविरुद्ध कुनै कारबाही नभएको घटना पनि अझै जीवितै छ।

प्रतिक्रिया दिनुहोस्