आयोडिन नूनको प्रयोगले ढिके नून विस्थापित



जाजरकोट, यहाँका ग्रामीण क्षेत्रमा आयोडिनयुक्त नुन सहजै पाउन थालेपछि यसको प्रयोगदर बढेको छ ।

आयोडिनयुक्त नून सहजै पाउन थालेपछि ग्रामीण क्षेत्रमा समेत ढिके नूनको प्रयोग घट्दै गएको छ । केही वर्षअघिसम्म स्थानीयलाई पाँच किलो नूनका लागि हिँडेर सदरमुकाम आउनुपर्ने बाध्यता थियो । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले गाउँमा पनि डिपो र गोदामको व्यवस्था गरेपछि उपभोक्तालाई सजिलो आयोडिनयुक्त नून भएको हो ।

जिल्लाका ग्रामीण क्षेत्रमा प्रतिकिलो रु नौ मै आयोडिनयुक्त नून वितरण गर्न थालेपछि जिल्लाका सात स्थानीय तहका स्थानीयवासीलाई मागअनुसारको नून प्राप्त गर्न सजिलो भएको छ ।

साल्ट ट्रेडिङले सदरमुकाम खलङ्गा, दल्ली, थलह र शिवालयमा गोदाम राखेर स्थानीयवासीलाई आयोडिनयुक्त नून उपलब्ध गराउन थालेको छ । पहिले पश्चिम क्षेत्रका स्थानीयवासी हिँडेर सदरमुकाम आएर नून खरिद गर्न बाध्य थिए । नूनका लागि जिल्ला सदरमुकाम धाउनुपर्ने अवस्थाको अन्त्य भएको शिवालय गाउँपालिका–४ का रामप्रसाद शाहीले बताउनुभयो । उहाँका अनुसार गाउँमा सहजै आयोनून पाइन थालेको छ ।

पूर्वको दल्ली डिपोमा नलगाड नगरपालिका, बारेकोट गाउँपालिका र छिमेकी जिल्ला रुकुम पश्चिमका स्थानीयवासी नून लिन भीड लाग्ने गरेको छ । पहिलेपहिले हप्तामा दुई दिन मात्र वितरण हुने आयोनून अहिले दैनिक वितरण हुँदा झन सहज भएको साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडका प्रमुख भरत श्रेष्ठले बताउनुभयो ।

आवश्यकताअनुसार उपभोक्तालाई नून दिने गरिएको उहाँको भनाइ छ । उहाँका अनुसार अहिले अघिल्लो वर्षकोभन्दा यो वर्षको दोस्रो चौमासिकमै नून बिक्रीदर बढेको छ । गाउँगाउँमा डिपो विस्तारले गर्दा आयोडिनयुक्त नून बिक्री ह्वात्तै बढेको हो ।

पहिलो नून लिनका लागि ग्रामीण क्षेत्रबाट आएका स्थानीयवासीले विभिन्न सिफारिशको भरमा नून पाउने गरेका थिए । अहिले सिफारिश, कुपन र भनसुन प्रवृत्तिको अन्त्य भएपछि नून सहजरुपमा पाउन थालिएको बारेकोट गाउँपालिका– ५ का जनकबहादुर शाहीले बताउनुभयो ।

उहाँका अनुसार केही वर्षअघिसम्म जिल्ला सदरमुकाममा समेत पर्याप्त नून आपूर्ति नहुँदा सीमित नूनमात्र वितरण गर्ने गरिएको थियो ।

अघिल्लो वर्ष दुई हजार ३१० क्विन्टल खलङ्गा डिपोमा नून बिक्री भएको थियो भने अहिले माग बढेपछि दुई हजार ८०३ क्विन्टल कोठा निर्धारण गरिएको छ । दल्ली डिपोमा अघिल्लो वर्ष एक हजार ३८५ क्विन्टल कोटा निर्धारण गरिएकामा अहिले बढाएर चार हजार ३८ क्विन्टल निर्धारण गरिएको छ ।

त्यस्तै पश्चिमको थलह डिपोमा अघिल्लो वर्ष १४५ क्विन्टल बिक्री भएकामा यो वर्ष एक हजार १२९ क्विन्टल निर्धारण गरिएको छ ।

त्यस्तै शिवालय डिपोमा ३०९ क्विन्टल अघिल्लो वर्ष बिक्री भएकामा यो वर्ष ३७१ क्विन्टल निर्धारण भएको छ । दोस्रो चौमासिकमै भारी मात्रामा आयोडिनयुक्त नून बिक्री भइसकेको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यालयका अनुसार गाउँ बस्तीमै सरकारी अनुदानको आयोडिन नून वितरण हुन थालेपछि ढिके नूनको प्रयोग घट्दै गएको छ । आयोडिन नून उपभोगले बालबालिकामा गलगाड आउने, लाटो लठेब्रो हुने जस्ता शारीरिक समस्या कम हुँदै गएको स्थानीय स्वास्थ्यकर्मीको भनाइ छ ।

जिल्लाका ग्रामीण क्षेत्रमा समेत ढिके नूनको आयात रोकिँदै गएको छ । गाउँमै रु नौ मा आयोडिनयुक्त नूनको प्याकेट पाइने भएपछि महङ्गो हालेर ढिके नून प्रयोग घटेको छ । आयो नूनको प्रयोग गर्दा हुने फाइदाका विषयमा व्यापक जनचेतना फैलाउन खोजे प्रयोग दर अझ बढ्ने प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो ।

जनताको सुविधाका लागि महिनापिच्छे विवरण सङ्कलन गरेर परेको समस्या फुकाउने काम भएको प्रजिअ बस्नेतले बताउनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्