यसरी बन्यो टेम्पो चालकको कथामा बुलबुल



टेम्पो चालक महिलाको कथामा बनेको फिल्म बुलबुल आज शुक्रबारदेखि अल नेपाल रिलिज हुने भएको छ। फिल्ममा नायिका स्वस्तिमा खड्का टेम्पो चालकका रूपमा प्रस्तुत भएकी छिन्।

‘फिल्मको ट्रेलर र पोस्टरले टेम्पो कुदाउनेको कथा जस्तो देखाए पनि कथा फरक छ। म कलेज पढ्दैदेखि टेम्पो चढ्थें। आज आफैं टेम्पो चालक भएर फिल्म खेलेकी छुु।’ –स्वस्तिमाले भनिन्। स्वस्तिमाले उर्मिला कार्कीसँग डेढ महिना जति टेम्पो चलाउन सिकेपछि बोल्ने तरिकासम्म पछ्याउँदै अभिनय गरेको उनले बताइन्। फिल्मका नवनायक मुकुन भुसाल बुलबुल रिलिज नहुँदै चोपेन्द्र चरित्रबाट चर्चामा छन्। ‘टेम्पोमा चालक–चालिकाले के–कस्ता गफ गर्छन् भनेर बुझ्न गएको थिएँ। तर, कुरा बुझ्दै गएपछि म नै पो हिरो बन्न पुगेंं। यस्तो अवसर सायदै कलाकारले मात्र पाउँछन्।’ –उनले भने।

फिल्म लेखक तथा निर्देशक विनोद पौडेलले टेम्पो चढ्दाचढ्दै बुलबुलको कथा बुनेको बताए। ‘टेम्पोमा यात्रा गर्दा यात्रुको माहोल, टेम्पोको आवाज र अवस्थालाई नियालिरहन्थें। यात्रुप्रति उनीहरूको व्यवहारदेखि हरेक कुरामा ध्यान दिन्थें’, विनोदले सुनाए– ‘बुलबुलको कथा लेख्नकै लागि बाइक थन्क्याएर झन्डै ३ महिना टेम्पो चढें। ३ महिनाको अवधिमा केही महिला चालकलाई साथी बनाएँ। उनीहरूबाट टेम्पो चलाउँदाको दुःख–सुख थाहा पाएँ।

यी सबै बुझेपछि बुलबुल बनाएँ। यो मानव मनोविज्ञानको कथामा टेम्पोलाई माध्यमका रूपमा प्रस्तुत गरेको छु।’ फिल्ममा नायिका स्वस्तिमा खड्कालाई टेम्पो चालकको भँमिकामा पक्का गरेपछि उनी एकदिन मुकुन भुसाललाई लिएर टेम्पोमा निस्किएछन्। ‘महिला चालकको छेउमा मुकुन बसेको थियो। म पछाडिको सिटमा थिएँ। मुकुन र चालकको कुरालाई ध्यान दिएर सुनिरहन्थें। तीन÷चार पटक त्यसो गरेपछि मुकुन नै फिल्मका लागि उपयुक्त हुन सक्ने निर्णय गरें।’ –विनोदले भने।

मुकुन र स्वस्तिमासँगै लक्ष्मी बर्देवा, दीपक क्षत्री, उज्ज्वल अधिकारी, एलिना कार्कीलगायतले मुख्य भँमिकामा अभिनय गरेको फिल्म अविरल थापा, भीम थापा, राजु पौडेल र पुरुषोत्तम पाण्डेले निर्माण गरेका हुन् भने रामराजा दाहाल कार्यकारी निर्माता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्