रियल र टोटनह्याम विजयी



लन्डन, (एजेन्सी)
च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति भएको अन्तिम १६ को पहिलो लेगमा रियल मेड्रिड र टोटेनह्याम हट्सपरले जित आत्मसात गरेको छ ।

डिफेन्डिङ च्याम्पियन रियल मेड्रिडले आयाक्सलाई २–१ गोलअन्तरले पराजित गरेको हो । खेलको ६० औं मिनेटमा भिनिसियस जुनियरले उत्कृष्ट मुभ बनाउँदै पेनाल्टी क्षेत्रभित्र दिएको पासमा करिम बेन्जेमाले उत्कृष्ट गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । त्यसको १५ मिनेटपछि नै हाकिम जिएकले गोल गर्दै आयाक्सलाई खेलमा फर्काएका थिए ।

रियलले खेलको तीन मिनेट समय बाँकी रहँदा पुनः अग्रता लियो । ड्यानी कार्भाजलको क्रसमा मार्को एसेन्सियोले ६ यार्ड बक्सभित्रबाट गोल गर्दै रियललाई खेलमा २–१ अगाडी पारे । अब यी दुईबीच दोस्रो लेगको खेल मार्च ५ मा रियलको घरेलु मैदान सान्टियागो बेर्नबाउमा हुनेछ ।

यसैगरी बुधबार राति नै भएको अर्को खेलमा टोटेनह्याम हट्सपरले बोरुसिया डर्टमन्डलाई ३–० ले पराजित ग¥यो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको थियो । दोस्रो हाफको सुरुवातमै ह्युङ मिन सनले गोल टोटेनह्यामलाई अग्रता दिलाएका थिए ।

यसैगरी खेलको ८३ औं मिनेटमा भर्टोन्घनले गोल गरेपछि टोटेनह्यामको गोलसंख्या दुई पुगेको थियो ।
खेलको निर्धारित समय सकिन ४ मिनेट समय बाँकी रहँदा क्रिस्टियन एरिक्सनको कर्नरमा वैकल्पिक खेलाडी फर्नान्डो लोरेन्टेले गोल गर्दै टोटेनह्यामको जित सुनिश्चित पारे ।

प्रतिक्रिया दिनुहोस्