ओले गनरको जित सूत्र



 

लन्डन, (एजेन्सी)
युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा इंग्लिश प्रिमियर लिग क्लब म्यानचेस्टर यूनाइटेड घरमै पराजित भयो । युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा मंगलबार राति भएको खेलमा पिएसजीसंग २–० ले पराजित भएको हो ।

यो ओले गनर सोल्सकेयर प्रशिक्षक नियुक्त भएयता यूनाइटेडको पहिलो हार हो । तर जारी सिजनको इंग्लिश प्रिमियर लिग फुटबलमा भने गनरकै प्रशिक्षणमा म्यानचेस्टर यूनाइटेडले शानदार कमब्याक गरेको छ । दुई महिनाअघि यूनाइटेड इंग्लिश प्रिमियर लिगमा रेलिगेशन रेखा नजिक पुगेको थियो । ओले गनर सोल्सकेयर डिसेम्बरमा प्रशिक्षक नियुक्त भएयता इंग्ल्यान्डमा भएको ११ घरेलू म्याचमा यूनाइटेड अपराजित छ । बितेको १ सय १७ वर्षमा क्लब म्यानेजर रुपमा यस्तो भएको पहिलो पटक हो । ४५ वर्षीय ओले गनरद्वारा प्रशिक्षित टोली जारी सिजनमा पहिलो पटक लिग तालिकाको चौथो स्थानमा समेत पुगेको छ ।

उनले यूनाइटेड सम्हाल्नु अघि टीमले १७ मध्ये ७ म्याच मात्र जितेको थियो । तर १९ डिसेम्बरमा गनर कोच बनेपश्चात म्यानचेस्टरले इंग्लिश प्रिमियर लिग (ईपीएल) को ११ मध्ये कुनै म्याच गुमाएको छैन । फलस्वरूप टीम जारी सिजनमा पहिलो पटक ईपीएलको अंक तालिकाको चौथो स्थानमा पुगेको हो । यसको प्रमुख कारण उनको मैदान बाहिर र मैदान भित्रको रणनितिलाई नै मानिएको छ ।

ओले गनर टीम रोटेशन गर्नु नै आफ्नो जितको सूत्र मान्छन् । उनी भन्छन,–‘स्क्वाड रोटेशनमा डर त हुन्छ, तर बिना डर जित पाउन मुश्किल छ ।‘ उनले आफ्नो टोलीलाई मिडियाबाट पनि टाढा राखेका छन् । उनी सातामा एक दिन मात्र मिडिया सामु आउँछन् । ओले गनर नर्वेका हुन् । खेलाडीहरु र स्टाफसँग निजी सम्बन्ध सुधार गर्न सबैका लागि उनी नर्वेबाट चकलेट ल्याउने गर्छन् ।

साधारणतया खेल जित्ने टोलीका म्यानेजरले प्लेइन्ग इलेभेनमा धेरै फेरबदल गर्दैनन् । यधपि, गनर भने हरेक म्याचमा अलग–अलग प्लेइंग सेटलाई आफ्नो शक्ति मान्छन् । उनले गत शनिवार फुलह्यामविरुद्धको खेलमा ६ खेलाडी परिवर्तन गरेका थिए । जसको नतिजा यूनाइटेड ३–० ले विजयी भएको थियो । उनी भन्छन,–‘यस्तो गर्नाले स्टार खेलाडीहरु थाक्दैनन् । विशेषगरी कमजोर टोलीविरुद्ध यस्तो रणनिति अवलम्बन गर्नाले हामीले आफ्नो बेन्चका खेलाडीको क्षमता जाँच्ने अवसर समेत पाउँछौ ।‘

गनरले १४ वर्ष म्यानचेस्टर यूनाइटेडबाट खेलेका थिए । उनले क्लबका प्रशिक्षक बन्नुको अघिल्लो दिन टिमलाई तपाईहरु म्यानचेस्टर यूनाइटेड हो, त्यसरी नै खेल्नुहोस् भनेका थिए । यूनाइटेड तीब्र गतिको पास र आक्रामक खेलका लागि परिचित छ । उनले तीब्र गतिमा बल पास गर्ने रणनीतिलाई पुनः प्राथमिकतामा राखेका छन् । खेलाडीहरुलाई पनि उक्त रणनितिमा खेल्ने बानी थियो । त्यसैले एकपछि अर्को खेलमा यूनाइटेड सुधारिंदै गएको छ ।

टीमका पूर्व प्रशिक्षक माउरिन्होलाई खेलाडीहरुप्रति भरोसा थिएनन् । उनले पोग्बा जस्ता अनुभवी र मार्कस रेशफोर्ड जस्ता युवा खेलाडीहरुलाई मौका नै दिएनन् । तर ओले गनरले भने तिनीहरुमाथि भरोसा गरेका छन् । जसको नतीजा पोग्बाले पछिल्ला १० म्याचमा ८ गोल र ५ असिस्ट गरेका छन् । रेशफोर्डले पनि ८ म्याचमा ६ गोल गरेका छन् ।

माउरिन्हो सधै ब्यवस्थापनसँग असन्तुष्ट हुने गर्थे । उनले चाहेको खेलाडी टिममा उपलब्ध नभएका कारण उनले असन्तुष्टि पोख्ने गर्थे । तर गनरले भने टिममा उपलब्ध खेलाडीहरुलाई नै सही तरिकाले प्रयोग गरेका छन् । टिमका अनुभवी सेन्टर ब्याक भिक्टर लिन्डेलोफ २०१७ मा यूनाइटेडमा आबद्ध भएका थिए । यधपि, उनले जून २०१७ देखि नोभेम्बर २०१८ अर्थात १७ महीनामा मात्र २८ म्याच खेल्ने मौकÞा पाएका थिए । तर पछिल्ला डेढ महिनाभित्र भने उनले १० म्याच खेलिसकेका छन् । उनको उपस्थितिमा टिमले हरेक म्याचमा औसत ०.६ गोल बेहोरेका छन् । त्यसअघि यूनाइटेडले गोल बेहोरेको आकडा १.५ थियो ।

गनरलाई १९ डिसेम्बरमा जोसे माउरिन्होको स्थानमा टिमको अन्तरिम म्यानेजर बनाइएको थियो । उनले २० डिसेम्बरमा टिमको रीसेट बटन दबाए । अर्थात उनले त्यसको भोलिपल्ट नै आफ्नो हिसाबले काम गर्न सुरु गरे । खेलाडीहरु र स्टाफहरुसंग उनको निजी सम्बन्ध सुमधुर रहेको छ । उनी यूनाइटेडको स्टाफ पार्टीमा पनि सामेल हुने गर्छन् ।

सर एलेक्स फर्गुसनपछि यूनाइटेड सम्हालेका हरेक म्यानेजरले केही न केही परिवर्तन गरे । डेभिड मोयेसले मेन्यूबाट चिप्स हटाउन लगाए । लुईस भान गालले फ्लड लाइट राख्न लगाए । ओले गनरले भने मिडियासँग बोल्ने समय निर्धारण गरेका छन् । उनी सातामा एक दिन अर्थात शुक्रवार बिहान ८ः३० बजे मात्र मिडियासामू बोल्छन् । त्यसमा पनि उनी विवादभन्दा बढी टिमको प्रदर्शन र तयारीको विषयमा बढी केन्द्रित भएर बोल्छन् ।


चाहे टिमसँग जोडिएका कोही महिला होस् वा टिमको अफिससम्बद्ध अन्य कोही होस्, गनर क्लबका हरेक सदस्यसँग आफै भेट्ने गर्छन् । टिमकै सदस्य महसूस गराउन उनी कहिले काहि क्लबका जूनियर टीमका खेलाडीहरुसँग पनि भेटघाट गर्छन् । एकपटक जूनियर टिमका केहि खेलाडीले उनलाई चिनेका थिएन । तैपनि गनरले तिनीहरुलाई फुटबलको टिप्स दिएर उनीहरुलाई सहयोग गरेका थिए ।

यूनाइटेडका पूर्व प्रशिक्षक जोस माउरिन्होले कतिपय अवसरमा आफ्नो टिमका खेलाडीहरुको आलोचना गरेका थिए । उनकै कारणले पाउल पोग्बा जस्ता कयौं स्टार खेलाडीले क्लब छोड्ने मनसाय बनाएका थिए । तर गनरले भने अहिलेसम्म खेलाडीहरुको आलोचना पब्लिकमा गरेका छैन् । भित्री कुरा बाहिर ल्याउदा खेलाडीको मनोबल गिर्ने हुनाले त्यस्तो गर्न नहुने उनको ठम्याई छ ।

प्रतिक्रिया दिनुहोस्