‘नेपाल बडिबिल्डिङ च्याम्पियनसिप–२०१९’ शुक्रबारदेखि



काठमाडौँ ।
नेपालमा पहिलो पटक हुन लागेको (आइएफबिबी) फ्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप–२०१९’ (प्रो क्वालिफायर)को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

आयोजक बडिबिल्डिङको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफबिबी) नेपाल च्याप्टरले शुक्रबार र शनिबार आयोजना हुने उक्त अन्तर्राष्ट्रियस्तरको च्याम्पियनसिपका लागि विदेशका खेलाडीसमेत आउने क्रम जारी रहेको जनाकारी दिएको छ ।

यस्तै ‘गेष्ट पोजर’को रूपमा आउने लागेका बडिबिल्डर रोली विङ्कलर पनि आज नेपाल आइपुग्ने आयोजक संस्थाका अध्यक्ष सानु गुरुङले जानकारी दिनुभयो ।

राउन्ड रोबिनको आधारमा हुने उक्त प्रतियोगितामा सहभागी हुने सम्पूर्ण खेलाडीको नाम र तौल समूह शुक्रबार सार्वजनिक गरिने उहाँको भनाइ छ । गुरुङले अहिलेसम्म १५ देशका खेलाडीले नाम दर्ता गरिसकेको र अरु खेलाडीले पनि नाम दर्ता गर्ने क्रम जारी रहेको सो अवसरमा जानकारी दिनुभयो ।

प्रो क्वालिफायरमा ‘मेन्स फिजिक’, ‘मेन्स क्लासिक फिजिक’, ‘मेन्स बडिबिल्डिङ’ र ‘वुमन पिजिक’ गरी चार ‘इभेन्ट’मा प्रतिस्पर्धा हुनेछ । चार इभेन्टको विजेताले ‘प्रो कार्ड’ पाउनेछन् र अमेरिकाको लासभेगासमा हुने मिस्टर ओलम्पियामा भाग लिन पाउनेछन् ।

च्याम्पियनसिपमा ५० देखि ६० खेलाडीले भाग लिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । च्याम्पियनसिपका लागि खेल हेर्न रु १० हजार, पाँच हजार र तीन हजार दरका टिकट राखिएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्