रसियाद्वारा अमेरिकालाई भेनेजुयलामा हस्तक्षेप नगर्न चेतावनी



मस्को,(एजेन्सी)
संयुक्त राज्य अमेरिकाले भेनेजुयलाको संकटग्रस्त राजनीतिक विषयमा हस्तक्षेप गरेको भन्दै रुसले त्यसो नगर्न बुधवार चेतावनी दिएको छ । रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभले भेनेजुयलामा हाल जारी आन्तरिक राजनीतिक मामिलामा अमेरिकाले हस्तक्षेप गरेको आरोप लगाएका हुन् ।

रुसी विदेशमन्त्री लाभ्रोभले मंगललबार फोनमार्फत अमेरिकी विदेशमन्त्री माइक पोम्पेओलाई सो चेतावनी दिने क्रममा अमेरिकाले भेनेजुयलामा शक्ति प्रदर्शन गर्ने संकेत देखाएको आरोप पनि लगाएका छन् ।

यसैगरी लाभ्रोभले सो फोनवार्ताका क्रममा अमेरिकाले भेनेजुयलामा अझै हस्तक्षेप जारी राख्ने हो भने अमेरिकाले अन्तरराष्ट्रिय कानुन उल्लंघनको मुद्दा व्यहोर्नुपर्ने चेतावनी पनि दिएका छन् ।

गत महिना गुआइदोले आफूलाई भेनेजुयलाको अन्तरिम राष्ट्रपति घोषणा गरेपछि अमेरिका लगायत अन्य प्रमुख युरोपेली राष्ट्रले गुाइदोलाई नै समर्थन र मान्यता प्रदान गरेका थिए । तैपनि वर्तमान राष्ट्रपति निकोलस माडुरोले आफू नै निर्वाचनबाट प्रजातान्त्रिक ढंगले निर्वाचित राष्ट्रपति भएको बताउँदै आएका छन् ।

यहाँका विपक्षी आन्दोलनकारीले राष्ट्रपति निकोलस माडुरोका विरुद्ध प्रदर्शन गर्दै आएका छन् । तिनीहरुले आन्दोलनलाई थप चर्काउने चेतावनी दिँदै नयाँ निष्पक्ष निर्वाचनको माग गरेका थिए । तर माडुरोले भने विदेशीले अघि सारेको निर्वाचनको प्रस्तावलाई स्वीकार गर्न नसकिने बताएका छन् ।

यसैबिच भेनेजुएलाको राजधानी काराकसमा गाओइदोको समर्थनमा ठूलो संख्यामा मानिसहरु सडकमा उत्रिएका छन् । थुप्रैले मादुरोलाई पद छोड्न आग्रह गरिएको नारा लेखिएका प्लेकार्ड बोकेका छन् । उक्त विशाल प्रदर्शनको नेतृत्व गुआइदो स्वयमले गरिरहेका छन् । उनले राष्ट्रपति माडुरोले राष्ट्रमा प्रवेश गराउन नदिइएको मानविय उद्धार सामग्रीलाई जसरी भएपनि ल्याएरै छाड्ने प्रतिवद्धता जाहेर गरेका छन् । उनले यदि ति सामग्री आइ नपुगेकाे खण्डमा तीन लाख भेनेजयुलाका जनताको ज्यान जाने तथा झण्डै बिस लाख जनताको स्वास्थ खतरामा रहेको बताएका छन् ।

ठूलो आर्थिक संकटको स्थितीबाट गुज्रिरहेको भेनेजुयलामा अहिले खाद्यान्न अभाव चरम स्थितीमा पुगेको छ ।

तर माडुरोले बीबीसीलाई दिएको अन्तर्वार्तामा अन्तर्राष्ट्रिय समुदायसँग कथित अमेरिकी हस्तक्षेपविरुद्ध मद्दतको लागि अपिल गरेका छन् । साथै उनले कथित अमेरिकी हस्तक्षेपलाई देशमा कब्जा गर्ने कोसिसको संज्ञा दिइएका छन् । सेना , चीन र रुसले माडुुरोको सरकारलाई समर्थन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्