सानदार जितसँगै नेपाल फाइनलमा



काठमाडौं, (नेस)
इरानमाथि सानदार जित हात पार्दा अर्को खेलमा भारतले म्यानमारसँग पराजय बेहोर्दा नेपालको हिरो गोल्डकपको फाइनल यात्रा तय भएको छ ।
बुधबार भुवनेश्वरको कलिंगा रंगशालामा भएको खेलमा नेपालले आफु भन्दा माथिल्लो वरियतामा रहेको इरानलाई ३–० गोलअन्तरले हराएको हो ।

यो जितसँगै नेपालको फाइनल यात्राको संभावना बढेको थियो । यसपछिको खेलमा म्यानमारले आयोजक टोली भारतलाई १–० गोलअन्तरले हराएपछि नेपाल ६ अंकसहित दोेस्रो स्थानमा रहदै फाइनलमा पुग्यो । म्यानमार सबै खेल जितेर ९ अंकका साथ शीर्ष टोली बन्दै फाइनलमा पुगेको हो । फाइनल खेल शुक्रबार हुँदैछ । प्रतियोगितामा इरान भने विपक्षीलाई एक गोल पनि हान्न नसकेर सबै खेलमा पराजित भएको थियो ।

नेपालको सामु इरानको प्रदर्शन कमजोर बनेको थियो । नेपालकी अनिता बस्नेतले ४१औं मिनेटमा गोल गरेर नेपाललाई अग्रता दिलाएकी थिइन् । उनले कठिन कोणबाट गरेको गोलसँगै नेपाल पहिलो हाफमा १–० ले अगाडि बढेको थियो । दोस्रो हाफमा नेपालकी प्रमुख स्ट्राइकर सावित्रा भण्डारीले दुई गोल थपिन् । उनले ५९औं मिनेटमा अफसाइड ट्रयाक बिट गर्दै इरानी गोलकिपरलाई छल्याएर खाली नेटमा गोल गरेकी थिइन् ।

यस्तै ८९औं मिनेटमा पनि बललाई नियन्त्रणमा राख्दै उनले गोल गरेकी थिइन् । उनको जारी प्रतियोगितामा ४ गोल भएको छ । यसअघिको खेलमा भारतलाई २–१ ले हराउँदा उनले दुबै गोल गरेकी थिइन् । म्यानमारसँग भने नेपाल ३–० गोलअन्तरले हारेको थियो ।

प्रतिक्रिया दिनुहोस्