नेकपा कहिलेसम्म अस्थिर ?



अहिले सत्तारुढ नेकपामा अन्तद्र्वन्द्व बढेर गएको छ । नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सार्वजनिक मञ्चमै एक–अर्काको आलोचना र टिप्पणीमा उत्रिएका छन् । केन्द्रबाहेक प्रदेश, जिल्ला र स्थानीय तहमा पार्टी एकता प्रक्रिया नटुंगिँदै शीर्ष नेताबीच चलेको यस अन्तद्र्वन्द्वले नेकपामा ध्रुवीकरण बढाउने संकेत देखिएको छ । साबिक एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको नौ महिना पुग्नै लाग्दा सत्तारुढ नेकपा एकताको सकसबाट बाहिर निस्कन सकिरहेको छैन ।

तीन महिनाभित्रै सबै तहमा एकता गरिसक्ने म्यान्डेटसहित दुई पार्टी एकता घोषणा भए पनि हालसम्म प्रदेशमै एकता प्रक्रिया पूरा भइसकेको छैन । पार्टीका जनवर्गीय संगठन अलमलमै गुज्रिएका छन् भने प्रदेश संसद्देखि तल्लो निकायसम्म पूर्ववत् एमाले र माओवादी केन्द्रकै अस्तित्व कायमै छ । एकातिर पार्टी एकतामा भएको ढिलाइका कारण नेता÷कार्यकर्ताहरु निराश छन् भने अर्कोतिर भेनेजुएला प्रकरणपश्चात् दुवै अध्यक्षहरु ओली र दाहाल परस्पर विरोधमा उत्रिएर नेकपाभित्र भुइँचालो ल्याउने काम गर्दै छन् । पछिल्लो समय नेपालको कुनै पनि कूटनीतिक सम्बन्ध नरहेको भेनेजुएलाको आन्तरिक मामलामा हस्तक्षेप नगर्न अमेरिकालाई औँला ठड्याएर दाहालले द्वन्द्वको बीजारोपण गरेपछि ओलीले ‘बोली चिप्लिएको’ भनेर टिप्पणी गरेपश्चात् दुवै नेताको अन्तद्र्वन्द्व सार्वजनिक भएको हो ।

गन्तव्य एउटै भए पनि दुई भिन्न धारको राजनीतिबाट आएका एमाले र एमाओवादीको एकता प्रक्रिया जटिल हुनेमा द्विविधा थिएन । केन्द्रदेखि स्थानीय तहसम्म एकता गर्नुपर्ने भएकाले पर्याप्त समय लाग्नु अन्यथा होइन । तर, नेतृत्व पंंक्तिका परस्परका टकरावले पार्टी संगठनमा काम गर्न चाहनेहरु निराश छन् । भेनेजुएला प्रकरणपछि दाहालले दिएको चेतावनीपूर्ण अभिव्यक्तिले पार्टीको अन्तरसंघर्ष बढेर गएको छ । दाहालले शान्ति प्रक्रिया आफ्नो पक्षमा नभए अर्को माओवादी जन्मिने र त्यो झनै खतरनाक हुने मनसायकोे भाषा बोलेपछि पार्टी एकताको आधार र अवधारणामा गम्भीर सवाल उत्पन्न गरेको छ ।

पार्टी एकता नटुंगिँदा सत्तारुढ दलका संगठनहरु निष्क्रिय अवस्थामा छन्, जसको प्रभाव सरकारमा समेत परेको छ । अहिले व्यक्ति विशेषको पहुँच र प्रभावका भरमा सत्ताबाट अनुचित लाभ लिने अवस्था सिर्जना भइरहेको छ । व्यक्ति प्रधान हुने र पार्टी संगठनका निर्णय प्रक्रियाहरु अवरुद्ध बन्ने कारण लाभ भने व्यक्तिले नै लिने अवस्था उत्पन्न भएको छ । दुई अध्यक्ष सक्रिय हुनु स्वाभाविक भए पनि दुईतर्फ फर्किनुचाहिँ राम्रो संकेत होइन । एकता प्रक्रिया जति लम्बिँदै जान्छ त्यति नै संगठनभित्र निष्क्रियता र अस्तव्यस्तता बढ्दैै जान्छ । पाँचबर्से अवधिको म्यान्डेट पाएको दुई तिहाइ बहुमतप्राप्त सत्तारुढ दलमा यस्तो अवस्था सिर्जना हुनु शोभनीय होइन ।

अहिले नेकपामा स्थायी समिति, केन्द्रीय समितिदेखि वडा समितिसम्म एउटै सचिवालयका भरमा काम गर्नुपरेको छ । यसले सरकार सञ्चालनमा ओली र उनको समूहलाई केही सहज देखिए पनि पार्टीका तल्लो तहका कार्यकर्ताले सरकारको निर्णयमा स्वामित्वको सवाल खडा गरिरहेका छन् । एकता प्रक्रियाका लागि बनेको कार्यदलले प्रतिवेदन त परको कुरा, बैठक नै बस्न सकेको छैन । पार्टी र सरकार एकसाथ चल्न नसकेका टिप्पणीहरु स्वयम् नेकपामा जिम्मेवार नेताहरुले व्यक्त गर्दै आएका छन् ।

पार्टीका दुवै अध्यक्षको टकरावले सरकार एकातिर र ‘नेकपा’ अर्कोतिर सक्रिय रहेको देखिएको छ । अहिले दाहालले सरकारको बचाउ गर्न छाडेका छन् भने ओली एक्ला चालकजस्तै भएका छन् । ओली अझैसम्म सपना बाँड्नमै उद्यत् छन् भने उनकै पार्टीका नेताहरु संसद्बाटै कडा असन्तुष्टि व्यक्त गरिरहेका छन् । सरकारले विवादित वाइडबडी जहाज खरिद प्रकरणमा देखाएको लाचारी र आफैँले गठन गरेको समितिले गरेको ढिलासुस्तीले थप आलोचित बन्न पुगेको छ । सरकार भ्रष्टाचारमा लिप्त भएको सर्वत्र आलोचना चुलिँदा ओलीले छानबिन समितिलाई सत्यतथ्य प्रतिवेदन पेस गर्न निर्देशन दिन सकेका छैनन् । पार्टीको अन्तरकलहले निश्चिय नै सरकारले सही गति लिन सक्दैन । दुई अध्यक्षको ध्रुवीकरणले पार्टीभित्र भुइँचालो ल्याउने मात्र होइन, जनताको जनमतको समेत अवमूल्यन हुनेछ ।
– सुरक्षा सुवेदी, पाल्पा ।

अल्का अस्पतालले बढायो नेपालको गौरव
ललितपुरको अल्का अस्पतालमा ५४ वर्षीया एक महिलाको कोखबाट दुई टेस्ट ट्यूब बेबी (बच्चा) को जन्म भएकोले नेपाल र नेपालीको गौरव बढाएको छ । आइतबार जावलाखेलस्थित अल्का हस्पिटल प्रालिमा ती बच्चाहरुको जन्म भएको थियो । ती बच्चाहरुलाई प्रसूति विशेषज्ञ डा. नुतन शर्मासहितको टोलीले सफलतापूर्वक जन्माउन सफल भएको हो ।

यो सम्भवतः महिनावारी रोकिइसकेपछि पनि विशेषज्ञ डाक्टरको प्रयासमा पुनः महिनावारी गराएर बच्चा जन्माएको नेपालमै पहिलो पटक हो । त्यसैले यो सफलता अल्का अस्पताल र त्यहाँका डाक्टरको मात्र नभएर हामी सम्पूर्ण नेपालीको सफलता हो । यस विषयमा नेपालकै शिर उच्च भएको महसुस भएको छ ।

ती दुवै बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् । बच्चा जन्माउने महिलाको ४ वर्षअघि नै महिनावारी रोकिसकेको थियो । उनलाई डा. शर्मासहितको टोलीले पुनः महिनावारी गराएर टेष्टट्युब बेबी प्रविधिबाट जुम्ल्याहा बच्चा जन्माउन सफल भएका हुन् ।
– विनय पौडेल, कुपण्डोल, ललितपुर

प्रतिक्रिया दिनुहोस्