उपत्यकाको तीन करिडोरको काम सुस्त



सुरेश तामाङ, काठमाडौं ।
काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न विभिन्न समयमा गठित सरकारले तीन करिडोरको परिकल्पना गरेको छ । बाग्मती, धोविखोला र विष्णुमती खोला किनारलाई करिडोर बनाउने र सवारी चापलाई व्यवस्थित पार्ने परिकल्पना स्वरुप काम थालेको वर्षौ बितेपनि काम भने सुस्त गतिमा अगाडि बढेको छ । समयमा नै निर्माण सम्पन्न गरेर उपत्यका काठमाडौंको ट्राफिक जामलाई घटाउने सरकारको लक्ष्य करिडोर निर्माण नहुँदा अलपत्र परेको छ । नदी किनारामा व्यवस्थित सडक बनाउने उदेश्यको सहित सरकारले कोरिडार निर्माणको काम थालनी गरेको थियो । तर बर्षौ अघि सम्पन्न हुनुपर्ने सडक निर्माण हुन सकेको छैन् । जसको कारण काठमाडौंको सवारी सञ्चालनमा थप कठिनाई थपिएको छ ।

यस कोरिडोरले उपत्यकामा ह्वात्तै बढेको जनघनत्व, सहरी विकास, सवारीको उच्च चापलगायतले गर्दा यातायात सेवा नै अस्तव्यस्त बनेको विषयलाई मध्यनजर गरेको छ । काठमाडौं बासीले ट्राफिक जामको हैरान खेप्नु परिरहेको बास्तविकतालाई यी कोरिडोरले सम्बोधन गर्नेछ । तर काम भने सुस्त छ । निर्माण कार्य ठप्प नभए पनि काम कछुवाको गतिमै चलिरहेको छ ।
यस्तो अबस्थाले काठमाडौंबासीले वर्षौदेखि दैनन्दिन सास्ती खेप्दै आईरहेका छन् । यो कति सम्म लम्बिने हो ? न कसैलाई थाहा नै छ न त सम्बन्धित निकायले चित्त बुझ्दो जवाफ नै छ । समयमै काम नसकिँदा यस कोरिडोरहरु सवारी बनाउने ग्यारेज, निर्माण सामाग्री थुपार्ने थलो, फोहोरको डंगुर थुपार्ने डम्पिङ साईट बनेको छ ।


तीन वटै करिडोरमा यस्ता दृश्य देख्न सकिन्छ । यति मात्रै होइन, यस कोरिडोरहरुमा खाल्डाखुल्डी, पानी जम्ने र धुलो उड्ने कारणले समेत यस कोरिडोर हुँदै यात्रा गर्न कठिन भएर पनि बाँध्यताले यात्रा गर्न परिरहेको छ । समयमा नै सडक निर्माण नहुँदा प्रदुषण पनि बढेको छ ।

निर्माणाधिन करिडोरको कामको ढिलाईले गर्दा यसको असर प्रत्यक्षरुपमा काठमाडौंका यातायात सेवालाई परेको छ । निर्माणाधिन धोबीखोला, वागमती, विष्णुमती लगायत करिडोर सडक सञ्चालनमा ल्याउन सके काठमाडौंको ३० देखि ४० प्रतिशतसम्म सवारी जाम स्वतः हट्ने विज्ञ बताउँछन् ।

त्यस्तैगरी, शहरमा भएका खोला नदीको सदुपयोग गर्दै बैकल्पिक सडक बनाउने विदेशमा पनि सफल अभ्यास भएकोले यहाँ पनि सवारी व्यवस्थापनमा सफल हुने यातायात विज्ञ आशिष गजुरेलले बताउनुभयो ।

‘अरु देशहरुमा पनि यसतै खोला नदीलाई व्यवस्थापन गरी शहरमा बढेको सवारी चापलाई व्यवस्थापन गर्न सफल भएको छ’, उहाँले भन्नुभयो –‘बैकल्पिक सडकको रुपमा विकास हुने भएकोले गर्दा यसले सहरी सवारी चापलाई व्यवस्थापन गर्न टेवा दिन्छ ।’तर विशेष प्राथमिकतामा राख्नुपर्ने यस्ता करिडोर ढिलासुस्तीका कारण झन समस्या थपिएको उहाँको बुझाई छ ।

समय मै बजेटको अभाव, स्थानीयको अबरोध, अन्तर निकायबीच समन्वयको अभाव, मुआब्जामा समस्या, सुकुम्बासी वस्ती समस्या लगायतको चपेटाबाट यी करिडोर उम्किन सकिरहेको छैन ।


राममन्दिरदेखि बागमती दोभान (खैरोपुल)सम्म तीन चरणमा धोविखोलाको दुबै किनार गरी जम्मा २४ किमि सडकको ट्र्याक खोल्ने, कालोपत्रे गर्ने काम सम्पन्न गर्न धोबिखोला कोरिडोर सुधार आयोजनाले गरिरहेको छ । हालसम्म भौतिक प्रगति ५० रहेको आयोजनाको सबै काम सम्पन्न गर्ने लक्ष्य आब २०७७÷०७८ राखेको छ ।

४ अर्ब ५८ करोड लागत अनुमान गरेकोमा हालसम्म २ अर्ब ३८ करोड रुपियाँ खर्च भईसकेको आयोजनाको भनाई छ । धोविखोलाको काम थालेको १६ वर्ष पुगिसकेको छ तर अझै पनि पुरा भएको छैन । निर्माण थालको १६ वर्षपछि बल्ल धोबिखोला कोरिडोरको पहिलो खण्डको काम सम्पन्न भएको छ ।

विसं. २०५९ देखि नै धोबिखोलाकोनिर्माण कार्य थालिएको थियो । तर बल्ल आर्थिक वर्ष २०६७÷०६८देखी मात्रै निर्माणको कामले केही गति लिन थाल्यो धोबिखोला कोरिडोर आयोजनाका प्रमुख दिलिप भण्डारीले कोरिडोरको पहिलो खण्डको काम सम्पन्न भएको दाबी गर्नुभयो । ‘कोरिडोरको सबै काम सम्पन्न भएको छ । हामी अब दोस्रो चरणलाई फोकसमा छौँ’, उहाँले भन्नुभयो ।
त्यस्तै अधिकार सम्पन्न बाग्मती सभ्यता एकिकृत विकास समितिले बाग्मती र विष्णुमती खोलाको दुबै किनारमा करिडोरको काम सुरु गरेपनि काम सम्पन्न समयमै नहुँदा अल्पत्रको अबस्थामा छन् ।

यी दुबै कोरिडोरमा ढलको पाईप बिछ्याउने बाहेक केही प्रगति हुन सकेको छैन । विष्णुमती करिडोरको सडककिनार फोहोर डंगुर थुपार्ने साईट बनेको छ । निर्माण सामाग्री एत्र तत्र राखिएको छ, ढल फुटेर सडकमै एत्रतत्र फैलिएको पानीले गर्दा सवारी साधन आवागमनमा समेत समस्या थपिएको छ ।


खोलाको किनारै किनार टेकु पुलदेखि सोभाभगवती मन्दीर जाने बाटोको अबस्था यस्तै छ । बाटोको अबस्थाको बारेमा बयान गर्नु साध्य छैन । ३ वर्षदेखि यहाँका बासीन्दाले यस्तै समस्या भोगिरहेका छन् ।

खोला किनारको सडकमा कतै हिलाम्मे छ भने कतै धुलाम्मे । कतै ढल फुटेर सडकमै पानी वालछ्याल भएको छ । कालो पत्रे पुरै उक्किएर खाल्डाखुल्डी बनेको देख्न सकिन्छ ।

समितिले बाग्मती दोभानदेखि महादेवखोला दोभानसम्म ६ किमिको भाग विष्णुमती खोलालाई संरक्षण र ढल मुक्त पार्न काम गरिरहेको जनाएको छ । १ अर्ब लागतको अनुमान गरिएको यस खोलाको संरक्षण र ढल व्यवस्थापनका लागि हालसम्म समितिले ५७ करोड खर्च गरीसकेको छ ।

त्यसैगरी, कोरिडोर मध्ये सबै भन्दा लामो कोरिडोरको रुपमा बाग्मती कोरिडोरलाई लिईन्छ । गोकर्णेश्वर मन्दिरदेखि बल्खुसम्म साँढे १७ किमि सडक यस कोरिडोर अन्तर्गत निर्माण हुँदैछ ।

समितिले हालसम्म साँढे तीन किलोमिटर सडक खण्ड निर्माण भएको जनाएको छ। समितिले गोकर्णेश्वर– गुहेश्वरी, तिलगंगा– सिनामंगल, सिनामंगल–मिनभवन, शंखमुल– थापाथली, थापाथली– बल्खु खण्ड गरी सडक निर्माणको काम भईरहेको जनाएको छ । बर्षौ अघि सुरु भएको करिडोर निर्माण आयोजनाको काम सुस्त हुनुमा सरकारी निकायको वेवास्था र निर्माण कम्पनीको ढिलासुस्ती देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्