गण्डकी मेडिकल कलेजमा तालाबन्दी



विजय नेपाली, पोखरा ।
१० दिनदेखि आन्दोलनरत गण्डकी मेडिकल कलेजका विधार्थीले आक्समिक, ब्लड बैंक बाहेक सबै सेवामा तालाबन्दी गरेका छन् । आन्दोलनरत विधार्थी र अस्पताल प्रशासन बिच ४ पटकसम्म वार्ता बसिसक्दा समेत सहमतिमा आउन सकेको छैन । विभिन्न समयमा बसेको वार्ताले ठोस निष्कर्ष निकाल्न नसकेपछि माघ १७ गते कक्षा कोठा र माघ २२ गतेओपिडि र माघ २७ गते देखि रिले अनसन तथा माघ २८ गते देखि टिकट काउन्टरमा समेत तालाबन्दी गर्दा आकस्मिक बाहेकका सबै सेवा अवरुद्ध भएको छ ।

विभिन्न माग सहित आइतवार देखि रिले अनसन समेत बसेका बिधार्थीहरुको कुरा प्रशासनले वार्तामा बोलाउने बाहानामा मात्र झुलाइरहेको आरोप लगाउँदै विद्यार्थीले माग पूरा नभएसम्म रिले अनसन सुरु गरेका हुन । ‘हामीले मागेका माग पूरा गर्नतिर लाग्छौं भन्नुहुन्छ । बढी लिएको शुल्क र बिल माग्दा फिर्ता हुँदैन, अब कार्यान्वयन गर्छौं भन्नुहुन्छ,’ मेडिकल विद्यार्थी प्रवीण गौतमले भने ।
कलेजको प्रशासनबाट फोन गरेर आन्दोलन छोड्न धम्की दिने गरेकोसमेत विद्यार्थीको गुनासो छ ।

कलेजले विभिन्न बहानामा तोकिएको शुल्कभन्दा बढी शुल्क लिएर मनोवैज्ञानिक दवाव दिइरहेको आन्दोलनरत विद्यार्थीको भनाइ छ । विद्यार्थी परिर्वतन भाटले भने, ‘कक्षाकोठामा क्षमताभन्दा बढी विद्यार्थी कोचेर राख्छन्, थप पैसा केका लागि हो भनेर सोध्दा झर्केर परीक्षा फारम रोकिदिने धम्की दिन्छन् ।’ शुल्क बुझाउन ढिला भए १८ प्रतिशत ब्याज जोडेर कलेजले असुल गर्दै आएको विद्यार्थीहरुको गुनासो छ ।

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानबाट सम्बन्धन प्राप्त शैक्षिक संस्थामा संस्थानले तोकेबाहेक कुनै पनि शीर्षकमा अतिरिक्त शुल्क लिन नपाइने नियम छ । तर विद्यार्थीपिच्छे नियम बनाएर रकम असुल भइरहेको विद्यार्थीको आरोप छ ।

विश्वविद्यालय डिन अफिस र जिल्ला प्रशासन कार्यालयले विद्यार्थीको माग सम्बोधन गर्न अस्पतालाई चिठी लेखिसकेको भए पनि वास्ता नगरेको विद्यार्थीको आरोप छ । ‘हामीलाई कमजोरी देखाउन प्रशासनले षडयन्त्र गरिरहेको छ,’ विद्यार्थी अमित सिन्हाले भने, ‘हामीलाई आन्दोलन फिर्ता गर । तिम्रो पैसा फिर्ता दिन्छौंसम्म भनेर फोन गर्छन् ।’ तर पनि उनिहरुको माग सरोकारवाला निकायहरुले सम्बोधन भने गरेको देखिदैन ।

प्रतिक्रिया दिनुहोस्