समृद्धिको दिशाबाट विमुख हुँदै सरकार



सम्पादकीय
दुई तिहाई बहुमतको बलमा उभिएको सरकारको एक वर्षको क्रियाकलाप हेर्दा मुलुक समृद्धिको दिशामा अघि बढेको प्रतीत त भएन । झन् भएभएरका समस्याहरु समाधान गर्ने ल्याकत समेत सरकारले देखाउन सकेन । सरकारको एक वर्षको कार्यसम्पादन समिक्षा गर्दा न प्रभावकारी देखियो, न परिणाममुखी नै । यसले गर्दा सर्वत्र निराशा छाएको छ । मुलुक र मुलुकको भविष्यप्रति आम जनता आश्वस्त हुन सकेको छैन । सरकार समृद्धिको दिशाबाट विमुख हुँदै दैनिक प्रशासन सञ्चालन गर्ने कार्यमा अलमल भएको देखिन्छ ।

अहिलेको सरकारबाट नेपाल र नेपालीले सर्वाधिक आशा र अपेक्षा गरेको छ ।दुईतिहाई बहुमतको बलमा अडेको सरकारबाट अघिपछिको तुलनामा सर्वाधिक बढी अपेक्षा राख्नु स्वभाविक नै हो ।वर्तमान प्रधानमन्त्री केपीले ओलीले चुनावताका देखि नै मुलुकको समृद्धिको दिशामा तीब्र अघि बढ्न सपना देखाउनुभएको थियो । निर्वाचनको परिणामपछि ओली नेतृत्वको सरकार बनेलगत्तै नेपालीलाई समृद्धि र विकासका अनेकानेक सपना देखाइएको थियो । यसले जनताको सहज स्वभाविक अपेक्षालाई हवात्तै बढाईदिएको थियो । यहाँसम्मको त ठिकै थियो । तर सरकारले अहिलेसम्म समृद्धिको दिशामा सिन्को समेच भाँच्न सकेको छैन्, मुलुकको विकास र समृद्धि कुन जरोबाट पलाउँछ ? अहिलेसम्म भन्न नसक्नु उदेक लाग्दो रहेको छ ।

सरकारको दिनहरु जति बित्दै गएको त्यति त्यति सुखी नेपाली र समृद्ध नेपालको सपना मृगमरिका साबित हुँदै गएको छ । सेना, पुलिस, प्रशासन समग्र राज्य संयन्त्रमा आफ्नै नियन्त्रणमा हुँदा पनि सरकारले आखिर किन काम गर्न नसकेको त ? दुई तिहाई बहुमतको समर्थनमा अडेको सरकारलाई अघि बढ्न कसले रोकेको छ? यस्तै गतिले अघि बढ्ने हो सरकार असफल हुने त होइन ? भन्ने प्रश्नहरु सर्वत्र उठ्न थालेको छ ।

समृद्धिको साझा लक्ष्य तय गरिसकेपछि त्यसलाई मँर्त रुप सरकारले दिन सक्नुपर्दछ । तर समृद्धि के हो ? कसको समृद्धि? समृद्धिबाट गरिबी, पछौटेपन, अल्पसंख्यक , सिमान्तकृत जनताले कसरी लाभ पाउँछ अहिले सम्म सरकारले स्पष्ट गर्न सकेको छैन । सरकारले समृद्धिका अनेक सपना देखाएपनि त्यसलाई प्राप्त गर्ने योजना, माग बारे स्पष्ट पार्न सकेको छैन । हावादारी लाग्ने अनेक गफहरु दिने कार्यमा सरकार रमाईरहेको छ । सरकारले अनेक सपनाहरु बाँडेर जनतालाई दिग्भ्रमित पार्ने कार्यहरु गरिरहेको छ ।

देश र जनतामा जवाफदेही भएर प्रस्तुत भएको देखिएन । यस्तो अवस्थामा आगामी दिनहरु उत्साह भन्दा पनि निराशा हुने संकेतहरु सरकारले देखाईरहेको अवस्थामा सरकारको समग्र क्रियाकलापको उचित समिक्षा गर्नु आवश्यक छ । न भए दुई तिहाईको सरकार पनि इतिहासकै कमजोर कार्यसम्पादन भएको सरकारको रुपमा दर्ज हुन बेर लाग्दैन ।

प्रतिक्रिया दिनुहोस्