दुर्घटना न्यूनीकरणमा ध्यान दिऔं



नेपालमा सडक होस् वा हवाई, दुवै प्रकारका यात्रा हाम्रो लागि जोखिमपूर्ण रहँदै आएका छन् । नेपालमा सवारी दुर्घटना भयावह बन्दै गएको ट्राफिक प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ । प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयको तथ्यांकअनुसार नेपालमा बर्सेनि २ हजार ५ सय जनाको हाराहारीमा सवारी दुर्घटनाबाट मृत्यु हुने गरेको देखिएको छ । अनाहकमा दुर्घटनाका कारण ज्यान गुमाउने र अंगभंग भई शारीरिकरुपमा बाँच्न बाध्य हुनेको संख्या बर्सेनि बढ्दो छ । बढ्दो दुर्घटनाले हाम्रा सडक तथा राजमार्गहरु असुरक्षित रहेका छन् भन्ने देखिन्छ । बर्सेनि हजारौँ मानिसले ज्यान गुमाउनुपर्ने नियतिले दुर्घटनाका जोखिम न्यूनीकरण गर्न चुनौती थपिएको छ ।

दुर्घटना एउटा दुःखद संयोग र भवितव्य भए पनि यसका कारण मिहिन ढंगले केलाउनु जरुरी छ । किन दिनहुँ दुर्घटना बढिरहेको छ ? ट्राफिक प्रहरीले किन दुर्घटना न्यूनीकरण गर्न सकेको छैन ? भन्ने सवालमा अब ढिला नगरीकन कारकहरुको खोजी गर्नुपर्ने आवश्यकता देखिएको छ । प्रायः सार्वजनिक तथ्यअनुसार चालकको लापरबाही र साँघुरो सडकलाई नै दुर्घटनाको प्रमुख कारण मानिएको छ । तर, अब चालकको लापरबाहीलाई मात्रै कारण मानेर दुर्घटनाको निष्कर्ष निकाल्नु गलत पनि हुनसक्छ । यातायातका साधनको दुर्घटनाको प्रवृति र बढ्दो क्रमलाई पनि अनुसन्धान गर्न सकिए जोखिम न्यूनीकरण गर्नका लागि निचोड निकाल्न सहयोग पुग्छ ।

हरेक दुर्घटनाका पछाडि केही न केही कारण पक्कै जिम्मेवार हुन्छन् । तर, ट्राफिक प्रहरीले सडकको अवस्था र चालकको लापरबाहीलाई नै दुर्घटनाको कारण मान्ने र चालक र यातायात व्यवसायी भने सरकारी नीतिलाई दोष दिने गर्छन् । यी दुवै आरोप–प्रत्यारोपबीच केही सत्यता पनि पक्कै छन् । किनभने हरेक दुर्घटनामा चालक र सडकमात्रै जिम्मेवार हुँदैनन्, त्यसका पछाडि सिन्डिकेट, गाडीको चाप, सडक अवरोध, गाडीको अवस्था, सडक अनुशासन, ट्राफिक नियमको पालनाजस्ता थुप्रै पक्ष पनि जोडिएका हुन्छन् ।

दुर्घटना न्यूनीकरणमा चुनौती बढेपछि ट्राफिक प्रहरीले मात्रै केही गर्न सक्दैन । यसका लागि सडक यातायातसँग सम्बन्धित सरोकारवालाबीच समय–समयमा अन्तरक्रिया गर्ने, कानुनी प्रावधानमा व्यवस्था भएका कुरालाई पूर्णरूपमा कार्यान्वयन गर्ने, चालक, व्यवसायी र यात्रुलक्षित कार्यक्रमलाई निरन्तरता दिने, दुर्घटनासँग सम्बन्धित पक्षले सावधानी अपनाउने र सर्वसाधारणमा ट्राफिक सचेतनाजस्ता कार्यक्रमबाट दुर्घटना न्यून गर्न सकिन्छ । प्रदेश नं. ३ मा काठमाडौं उपत्यकाबाहेक चितवनमा सबैभन्दा बढी सवारी दुर्घटना हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । ट्राफिक नियमबारे जानकारी भएर पनि लापर्वाही गर्ने र अटेर गर्ने प्रवृत्तिले गर्दा दुर्घटनालाई कम गर्न नसकिएको ट्राफिक प्रहरीले बताउँदै आएको छ ।

ट्राफिक नियमबारे जानकार हुँदाहुँदै पनि पालना नगर्ने प्रवृत्ति पनि दुर्घटनाको कारण मानिएको छ । दुर्घटना घटाउने विषयमा चेतनामूलक कार्यक्रमका साथै दुर्घटनाको दुष्परिणामबारे सतर्क गराएर दुर्घटना न्यूनीकरण गर्नु जरुरी देखिएको छ ।
– अञ्जना, पछाईं, काठमाडौं (हाल: कुबेत)

प्रतिक्रिया दिनुहोस्