एपीएफ र न्युडायमन्ड सेमिफाइनलमा



काठमाडौं, (नेस)
साविकको विजेता विभागीय टिम नेपाल एपीएफ क्लब र उपविजेता होङ्गान्जी न्यु डायमन्ड एकेडेमी तेस्रो संस्करणको दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

पर्वतको सदरमुकाम कुश्मामा सोमबारबाट शुरू भएको प्रतियोगितामा एपीएफ समूह ‘ए’ बाट विजेता तथा न्यु डायमन्ड समूह ‘बी’ बाट विजेताका रूपमा अन्तिम चारमा पुग्न सफल भएका हुन्। एपीएफले सोमबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशलाई समान ३–० को सोझो सेटमा पराजित गर्दै समूह विजेता बन्यो। पहिलो खेलमा आर्मीलाई २५–७, २५–२३ र २५–१५ ले सहजै पन्छाएको एपीएफले दोस्रो खेलमा गण्डकी प्रदेशलाई २५–७, २५–१३ र २५–१९ ले पराजित गर्दै समूह विजेता बन्यो।
यो समूहबाट पुलिस र गण्डकी प्रदेशमध्ये एक टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ। यी दुई टोलीबीचको खेल मंगलबार हुनेछ। सोमबारै भएको अर्को खेलमा न्यु डायमन्डले विभागीय नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह विजेता बन्यो। एकपक्षीय बनेको खेलमा डायमन्डले पहिलो सेटमा डायमन्डले २५–१४ को सहज जित निकालेको थियो। केही रोमाञ्चक बनेको दोस्रो सेट डायमन्डले २५–२० र तेस्रो सेट २५–१५ को सहज जित निकाल्यो। पराजित भए पनि पुलिस समूह उपविजेताका रूपमा अन्तिम चारमा पुग्न सफल भयो। पुलिसले फाइनल प्रवेशका लागि समूह ‘ए’ को विजेता एपीएफसँग खेल्नेछ।

प्रतियोगितामा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी क्लब, नेपाल एपीएफ क्लबसहित न्यु डायमन्ड एकेडेमी र गण्डकी प्रदेश गरी ५ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले २ लाख रुपियाँ हात पार्नेछ। दोस्रो हुनेले १ लाख र तेस्रो हुने टोलीले ५० हजार रुपियाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपियाँ हात पार्नेछन्।

प्रतिक्रिया दिनुहोस्