यात्राबाट सलिनमानको आशा



नायक सलिनमान बनियाले फिल्म यात्राले आफ्नो फिल्मी करिअरको यात्रालाई धेरै अगाडि बढाउने विश्वास व्यक्त गरेका छन्। ‘यो मेरो सेकेन्ड फिल्म हो। पहिलो फिल्म ए मेरो हजुर–२ मा नयाँ भएका कारणले फिल्म इन्डस्ट्री र एक्टिङको बारेमा केही पनि थाहा थिएन। यात्रासम्म आइपुग्दा एक्सपिरिएन्स पनि बढ्दै गएको छ र म सिक्दै पनि छुु।’ –सोमबार सञ्चारकर्मीसँगको भेटमा सलिनमानाले भने।

सलिनमान सुनाउँदै थिए– ‘फिल्म यात्रालाई लिएर ममा एक प्रकारको प्रेसर छ। तर, हामी सबैले मेहनत गरेर यात्रालाई राम्रो बनाउने प्रयास गरेका छौं। यो एक फरक कथामा बनेको फिल्म हो, जसलाई दर्शकले मन पराउनुहुन्छ भन्ने लाग्छ। पहिलो र दोस्रो दुवै फिल्ममा डेब्यु निर्देशक भए पनि मलाई सम्राट दाइ र झरना दिदीजस्तो नेपाली फिल्ममा एक्सपिरियन्स व्यक्तिहरूसँग काम गर्न पाउँदा निकै राम्रो लागिरहेको छ।’ व्यक्तिगतरूपमा यात्रामा खासै रुचि नराख्ने सलिनमानले फिल्म यात्रामा आफ्नो यात्रा भने निकै रमाइलो रहेको बताए। ‘यसमा मैले धेरै इन्जोय गरें। फिल्म यात्रामा मेरो जुन हेएर स्टाइल र ड्रेसअप छ त्यो फिल्मको क्यारेक्टरलाई एकदमै म्याच हुने खालको छ।’ –उनले भने। निर्माता केशव भट्टराईले फिल्ममा नेपाली सिनेमाले नदेखेको लाकेसन रहेको बताए। ‘यसमा सोलुखुम्बुको फाप्लु, सल्लेरी, पातले जस्ता स्थानको मनोरम दृश्य रहेको छ।’ –उनले भने।

यसैबीच सम्राट शाक्यको डेब्यु निर्देशन, कथा र सलिनमान बनिया स्टारर फिल्म यात्रा अ म्युजिकल भ्लगको पहिलो गीत रिलिज भएको छ। पाँच पन्छी बोलको उक्त गीतमा फिल्मका मुख्य पात्रहरूको काठमाडौंदेखि सोलुखुम्बुसम्मको रोमाञ्चकारी यात्रा देखाइएको छ। गीतमा फिल्मका मुख्य कलाकार सलिनमान बनियाको साथमा मल्लिका महत, प्रेक्षा बज्राचार्य, जान्वी बस्नेत, रेयर राईलयायतका कलाकारलाई फिचर्ड गरिएको छ। प्रतीक पौडेलको शब्द तथा संगीत रहेको गीतमा धर्मेन्द सेवान, उपकार पाण्डे, मेलिना राई र प्रेक्षा बज्राचार्यको स्वर छ भने प्रवीण सिंहको कोरियोग्राफी रहेको छ। यात्राको क्रममा आउने उतार–चढावको कथामा निर्मित फिल्मको पटकथा तथा संवाद निर्देशक शाक्यसँगै सुरेश न्यौपाने, प्रतीक पौडेल र शिशिर खातीले लेखेका हुन्। फिल्ममा जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कुँवर, ईश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, ईश्वर पौडेल, विशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मालगायतका कलाकारको अभिनय रहेको छ।

‘एक कलेजको फिल्म पढिरहेका विद्यार्थीको सेमेस्टरपछि कसैको जीवन नै परिवर्तन गरिदिने गरी दिइएको प्रोजेक्ट वर्कका सिलसिलामा उनीहरूले गाउँको एक युवतीको बारेमा रिसर्च गर्छन् र उनलाई भेट्न उनको गाउँसम्म गएको कथामा फिल्म घुमेको छ’, निर्देशक शाक्यले भने– ‘गीतको सुटका लागि ५ दिन जति लाग्यो। मौसम परिवर्तनका कारण पूरै फिल्मको सुटिङ सकिन समय लाग्यो।’

कोटकी कालिका देवी फिल्म्स् प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरिओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता केशव भट्टराई र चिजकुमार श्रेष्ठ हुन्। फिल्ममा सञ्जय लामाको छायांकन, कविराज गहतराज र प्रवीण सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व, शम्भुजित बास्कोटा, प्रतीक पौडेल र कोविद बज्रको संगीत तथा बनिश शाहको सम्पादन रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्