‘अब कांग्रेस यसरी अघि बढ्नुपर्छ’



नेपाल समाचारपत्र
काठमाठौं
नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीले महासमितिले दिएको एकताको सन्देशलाई आगामी दिनमा सम्पूर्ण कार्यकर्ताहरूले अनुभूत हुन पाउने गरी सम्मानपूर्ण व्यवहार र न्यायपूर्ण अवसर दिनुपर्ने बताउनुभएको छ। यसका लागि आवधिक कार्ययोजना तयार पार्ने साथै पार्टीका साथीहरूसँगको संवाद र सम्बन्धमा नयाँ कार्यशैली र व्यवहार प्रस्तुत गर्नुपर्ने उहाँको भनाइ रहेको छ।

कांग्रेसलाई सशक्त बनाउने रणनीति तय गर्न केन्द्रीय समितिलाई आग्रह गर्दै नेता जोशीले पार्टीको भावी रणनीतिक योजना प्रष्ट पारी पार्टीका साथीलाई प्रशिक्षित गर्नुपर्ने पनि बताउनुभएको छ। नेतृत्व तहले विगतमा भएका राम्रा उपलब्धिहरू जसले जनता र राष्ट्रका जीवनमा महŒवपूर्ण अर्थ राखेका छन्, सो को प्रचारप्रसार प्रभावकारीरूपमा गर्ने र देखिएका कमी कमजोरीलाई सुधार्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने भन्दै उहाँले प्रभावकारी कांग्रेस निर्माणका लागि पार्टीको महाधिवेशन पनि निश्चित समयमा नै सम्पन्न गर्न आवश्यक कार्यतालिका तयार पारी सोअनुरूप कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ।

सोमबार बसेको केन्द्रीय समिति बैठकमा नेता जोशीले जारी बैठकले सबै भ्रातृ संस्थाहरूको प्रत्येक अधिवेशनको निश्चित मिति तोक्नुपर्ने पनि बताउनुभएको छ। नेपाल तरुण दलको समितिलाई तत्काल पूर्णता दिन आवश्यक रहेको भन्दै उहाँले नेपाल विद्यार्थी संघको अधिवेशन सम्पन्न गर्नसक्ने र आगामी स्ववियु निर्वाचनमा अध्यधिक क्याम्पसमा विजयी बनाउन सक्ने तदर्थ समिति गठन गर्ने बारेमा जारी केन्द्रीय समितिले निर्णय लिनुपर्ने बताउनुभएको छ।

नेपाल प्रेस युनियन, नेपाल दलित संघ, नेपाल किसान संघलगाएत भातृ संस्थाको अधिवेशन निश्चित समयमा नगरेकामा स्पष्टीकरण सोधी अधिवेशन सम्पन्न गराउने र नेपाल महिला संघलाई सक्रिय बनाउने कुरामा पनि कांग्रेस केन्द्रीय समितिले ध्यान दिनुपर्ने नेता जोशीले बताउनुभएको छ।

नेपाली कांग्रेसले अहिले प्रतिपक्षका रूपमा निभाइरहेको भूमिकालाई सशक्त र परिणाममुखी बनाउनुपर्ने भन्दै उहाँले भन्नुभयो– ‘नेकपा र यसको सरकारले गरेका गलत कार्य, लिएका गलत नीति, उनीहरूको अक्षमता, जनतामाथि गरेका अन्याय, निर्मला पन्त बलत्कार एवं हत्याजस्ता काण्डहरूमा सरकारको बेवास्ता तथा प्रमाण नष्ट गरी बलात्कारी–हत्यारालाई बचाउने खेल, वाइडबडी कान्ड, बुढीगण्डकी काण्ड, ठूला योजनाबिना प्रतिस्पर्धा दिने निर्णयजस्ता भ्रष्टाचारलाई बढावा दिने विषयमा सशक्त आवाज उठाउने, अनुगमन गर्ने र कुनै पनि मुद्दा नछाडी परिणाममा पु¥याउन पार्टीका सम्पूर्ण संयन्त्रहरू तयार पार्नुपर्छ।’

सरकारको अधिनायकवादी शैली र व्यवहार एवं जनविरोधी कार्यहरूका विरुद्धको आन्दोलनलाई निरन्तर अगाडि बढाई गाउँ तहसम्मै पु¥याउनुपर्ने भन्दै उहाँले अब प्रत्येक क्षेत्रमा चेतनामूलक र विरोध कार्यक्रम र वडा तहमा समेत जिल्ला र क्षेत्रको संयोजनमा सचेतना कार्यक्रम आयोजनाका लागि महासमिति र महाधिवेशन प्रतिनिधीलाई जिम्मेवारी दिनुपर्ने पनि बताउनुभएको छ। साथै भ्रातृ र शुभेच्छुक संस्थालाई कार्यक्रम आयोजना गर्न केन्द्रीय समितिले निर्देशन दिनुपर्ने उहाँको धारणा छ।

जारी बैठकले युवाका लागि उद्यमशीलता विकास, रोजगार एवं स्वरोजगारका अवसरहरूको सिर्जनाका लागि संयन्त्र तयार गर्ने, आगामी दिनमा बहुमतको सरकार गठन गर्न सक्षम हुने गरी पार्टीको केन्द्रीय तहदेखि वडा तहसम्मलाई क्रियाशील गराउने, समुन्नत नेपाल र सम्पन्न नागरिकका लागि स्पष्ट खाका तयार पार्नेजस्ता विषयमा गम्भीर छलफल हुनुपर्ने नेता जोशीको भनाइ छ।

महासमितिको बैठकमा सदस्यहरूले व्यक्त गरेका भावनालाई समेट्दै केन्द्रीय सदस्य पनि क्षेत्रीय प्रतिनिधिका रूपमा रही महाधिवेशन प्रतिनिधि हुन चुनाव लड्नुपर्ने र समावेशी आधारमा एक तहमा एकपटक मात्र अवसर प्राप्त गर्न पाउने व्यवस्था कायम गरी नेतृत्व विकासका लागि नयाँलाई अवसर दिने विषयमा निर्णय गर्न कांग्रेस केन्द्रीय समितिलाई नेता जोशीले आग्रह गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्