काङ्ग्रेसमा केन्द्रीय सदस्यले वडाबाटै चुनिनुपर्ने बहस



काठमाडौँ ।
नेपाली काङ्ग्रेसमा केन्द्रीय पदाधिकारी र सदस्यले पार्टीको वडा समितिबाटै निर्वाचित हुनुपर्ने विषयमा बहस जारी छ ।

गत मङ्सिर २८ देखि पुस ८ गतेसम्म भएको पार्टीको महासमिति बैठकले विधान संशोधनको प्रस्तावलाई केन्द्रीय कार्यसमितिले सुझाव समेटेर परिमार्जन गर्न सक्ने गरी पारित गरेको थियो । महासमिति बैठकमा मुख्यगरी केन्द्रीय सदस्य पार्टीका वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने र पार्टीमा आरक्षणको व्यवस्था एक व्यक्तिका लागि एक पटक मात्र हुने व्यवस्था विधानमा राख्न सुझाव आएको थियो ।

यस विषयमा काङ्ग्रेस केन्द्रीय समिति बैठकमा पक्ष र विपक्षमा दुवै थरीका धारणा आएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराउनुभयो । यही बहसका कारण महासमिति बैठकपछि केन्द्रीय समिति बैठक पटक पटक बसे पनि पार्टीको विधानले अझै अन्तिम रुप पाउन सकेको छैन । सभापति शेरबहादुर देउवाको सभापतित्वमा भएको बैठकमा आज केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, डा मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, नवीन्द्रराज जोशी, शङ्कर भण्डारी, मीन विश्वकर्मा, प्रदीप पौडेल, चिनकाजी श्रेष्ठ, प्रवक्ता शर्मा, हरिप्रसाद नेपाल र अमृत अर्यालले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

केन्द्रीय सदस्य बडूले महासमिति बैठकमा आएको सुझाव विधानमा समेट्न पार्टी नेतृत्व विचलित हुन नहुने धारणा राखेको बताउनुभयो । साथै उहाँले विधानमा देखिएका अन्य अस्पष्टतालाई शीघ्र टुङ्ग्याएर संविधानअनुसारका पार्टी संरचना बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । अर्का केन्द्रीय सदस्य श्रेष्ठले समावेशिता भनेको मनोनयन नभई सम्बन्धित क्लस्टरका व्यक्तिबीच प्रतिस्पर्धा हुने भएकाले यसमा कुनै पनि रोक लगाउन नहुने धारणा राख्नुभएको थियो ।

त्यस्तै केन्द्रीय सदस्य भण्डारीले महासमिति बैठकमा ठूलो सङ्ख्यामा सदस्यले हिन्दू राष्ट्रका पक्षमा हस्ताक्षर गरेकाले यस विषयलाई पार्टीले आत्मसात् गर्नुपर्ने धारणा राखेको बताउनुभयो । बैठकमा नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले अध्यक्ष पदबाट दिनुभएको राजीनामा सभापति देउवाले स्वीकृत गर्नुभएको थियो । केन्द्रीय कार्यसमितिको अर्को बैठक भोलि २९ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्