रुकुममा चार दिनदेखी टेलिफोन सेवा अवरुद्ध



धनवीर दाहाल, रुकुम ।
रुकुममा गत शुक्रबारदेखी अवरुद्ध भएको नेपाल टेलिकमका सबै टेलिफोन तथा मोबाईल सेवा सुचारु नहुँदा सेवाग्राही मर्कामा परेका छन् । अविरल वर्षा र हिमपातसँगैको चट्याङले रोल्पा रातामाटा स्थित नेपाल टेलिकमको रिपिटर टावरमा क्षति पुगेपछि टेलिफोन सेवा अवरुद्ध भएको हो ।

नेपाल टेलिकमको नमस्ते, स्काई मोबाईल नेटवर्कका साथै ल्यानलाईन फोन र एडीएसएल इन्टरनेट सेवा अवरुद्ध भएका छन् । जिल्ला सदरमुकाम मुसिकोटमा वितरण गरिएको ल्याण्डलाईन र एडीएसएल उपभोक्ता सहित जिल्लाका हजारौँ मोबाईल फोन प्रयोगकर्ताहरु समस्यामा परेका हुन् । साथै रुकुम पूर्व, जाजरकोट र रोल्पा जिल्लाका केही भू–भागमा समेत नेटवर्क नभएको स्थानीयले बताएका छन् ।

रातामाटा टावरमा बाक्लो हिमपात भएकोले मर्मतमा ढिलाई भएको नेपाल टेलिकमले जनाएको छ । मौसममा सुधार हुनेवित्तिकै काम सुरु गरेर सेवा सुचारु बनाइने बताइएको छ ।

फोन तथा इन्टरनेट नहुँदा स्थानीय सञ्चार माध्यम र पत्रकारहरुलाई बढि समस्या भएको छ । जिल्लाका कतिपय क्षेत्रमा निजी कम्पनीका इन्टरनेट सेवा प्रदायकहरुबाट वितरण गरिएको इन्टरनेट सेवाले मात्र काम गरेकोले पत्रकारहरुले त्यसमार्फत काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्